
पोखरा — भोटेकोशीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।



समितिको समन्वयमा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय समिति तथा संस्थामा आबद्ध पदाधिकारी र सदस्यहरूबाट संकलित रकममा संस्थाको कोषबाट समेत थप गरी २० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिअन्तर्गतका राष्ट्रिय समन्वय समितिहरूमध्ये स्याङ्जा समाज जापानले ४ लाख २९ हजार ८९९ रुपैयाँ, स्याङ्जा समाज अमेरिकाले ४ लाख २८ हजार ७८२ रुपैयाँ, स्याङ्जा सहयोग समाज कतारले २ लाख ७० हजार रुपैयाँ, स्याङ्जा समाज बेल्जियमले १ लाख ५० हजार रुपैयाँ, स्याङ्जा सहयोग समाज साउदी अरबले १ लाख रुपैयाँ, स्याङ्जा समाज फ्रान्सले १ लाख रुपैयाँ, स्याङ्जा सहयोग समाज बहराइनले १ लाख रुपैयाँ र स्याङ्जा समाज क्रोएसियाले २० हजार ६४ रुपैयाँ सहयोग गरेका थिए।
त्यस्तै, संस्थाले सुरु गरेको अभियानमा संस्थाका सल्लाहकार रमेश श्रेष्ठ (युएई) बाट १ लाख रुपैयाँ, अक्षयकोष सञ्चालन समितिका सदस्य नारायण शर्मा (कतार) बाट ५० हजार रुपैयाँ, अध्यक्ष मीन क्षेत्री (बेल्जियम) बाट २५ हजार ५०० रुपैयाँ, सल्लाहकार हेमन्त रानाभाट (नर्वे) बाट २५ हजार रुपैयाँ, सल्लाहकार कमल न्यौपाने (कतार) बाट २० हजार रुपैयाँ र सल्लाहकार डेबिड गुरुङ (बेलायत) बाट २० हजार रुपैयाँ लगायत सहयोग प्राप्त भएको थियो।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय समितिका विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरूबाट प्राप्त सहयोगमा संस्थाको कोषबाट ६३ हजार ५५७ रुपैयाँ थप गरी कुल २० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको खातामा भदौ १७ गते जम्मा गरिएको संस्थाका महासचिव ओमकार पोख्रेलले जानकारी दिए।
महासचिव पोख्रेलका अनुसार संस्थाअन्तर्गतका स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा समाज दक्षिण कोरिया लगायत अन्य राष्ट्रिय समन्वय समितिहरूले यसअघि नै आ–आफ्नो तर्फबाट प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग पठाइसकेका छन्। 
विपद्मा निरन्तर सहयोग
विश्वभर रहेका स्याङ्जालीहरूको छाता संस्थाका रूपमा रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति वि.सं. २०६६ सालमा स्थापना भएको हो। संस्थाका अनुसार हाल विश्वका करिब २० देशमा राष्ट्रिय समन्वय समिति तथा तदर्थ समितिहरू रहेका छन्।
संस्थाले नेपालमा आउने ठूला विपद्का बेला सहयोग गर्दै आएको छ। भूकम्प, कोरोना महामारी, बाढीपहिरो तथा जिल्लामा आइपर्ने विभिन्न प्राकृतिक विपद्का साथै शिक्षा, स्वास्थ्य र अन्य परोपकारी क्षेत्रमा समेत संस्थाले सहयोग गर्दै आएको महासचिव पोख्रेलले बताए।
बाढी तथा पहिरोजस्ता विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ।


