पर्साको एक उद्योगमा आगलागी, १३ करोड क्षति भएको अनुमान – Deurali Khabar

६ पुस, वीरगञ्ज । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।

मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार बिहान ६ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन पर्सा, बाराका ११ वटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।

पर्साको वीरगञ्ज महानगरपालिकाका २ वटा, पोखरिया नगरपालिका, विपद व्यवस्थापन गुल्म र सखुवाप्रसौनी नगरपालिकाबाट आएका वारुण यन्त्रले आगो निभाउन नसकेपछि बाराको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका र देवताल गाउँपालिकाबाट समेत वारुणयन्त्र झिकाइएको थियो । वारुण यन्त्रसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा खटिएका थिए ।

आगलागीबाट उद्योगमा रहेको मेसिन, कच्चा सामग्री र तयारी माल जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले जानकारी दिए । चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेका कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्णरुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमा समेत क्षति पुगेको छ ।

‘स्टाफले साढे ११ बजेतिर फोन गरेर हामीलाई आगलागीको बारेमा जानकारी गराएका थिए,’ चौरसियाले भने ‘वीरगञ्जबाट उद्योग पुग्दा आगो नियन्त्रण बाहिर गइसकेको थियो । उद्योग पूरै ध्वस्त भइसकेको छ ।’ उनका अनुसार आगलागीबाट झण्डै १३ करोडको क्षति भएको अनुमान गरिएको छ ।

वि.सं. २०५४ सालदेखि वीरगञ्जको छपकैयामा उद्योग सञ्चालन गर्दै आएका चौरसियाले ५ वर्षअघि मात्रै गर्दौलको १० कठ्ठा जमिनमा उद्योग विस्तार गरेका थिए ।

विद्युत सर्ट भई आगो लागेको हुनसक्ने अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले कसरी आगलागी भएको हो र कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP