
रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा साँढे घिसारेको फोटो भाइरल भएपछि मेयर इस्तियाक खानले यसबारे अनावश्यक हल्ला फैलाएको दाबी गर्नुभएको छ । भाइरल भएजस्तो घटना नभएको, तर यदि कोही दोषी देखिएमा कारबाही गर्ने उहाँको भनाइ छ ।
हिजो बेलुकी लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई घिसार्न लागेको फोटो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । मेयर खानले भने फोटो भाइरल भएजस्तो घटना नभएको दाबी गर्नु भएको छ ।



‘हामीले छाडा पशुचौपायालाई व्यवस्थित गर्न एउटा गैरसरकारी संस्थासँगको समन्वयमा काम गर्दैछौँ, त्यही अभियान अन्तर्गत सडकमा त्यसै छोडिएका गाई गोरुलाई आश्रममा लैजान खोजिएको थियो । त्यसै क्रममा साँढे “हेभी” भएपछि बाँधेर बिस्तारै बिस्तारै लैजान खोज्दा सडकमा बसेको थियो । त्यही फोटो खिचेर अनावश्यक हल्ला चलाइयो’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार छाडा पशु चौपायाका कारण दुर्घटना बढेपछि उनीहरुको व्यवस्थापन र संरक्षणका लागि बुटवल आसपासको जङ्गलमा आश्रम बनाइएको छ । त्यहीँ आश्रममा गैर सरकारी संस्थाले यस्ता पशु चौपायाको संरक्षण गर्दै आएका छन्।
सिद्धार्थ नगरपालिकाका १ सय २५ वटा गाईगोरु गरी पनि यही आश्रममा लगेर राखिएको छ । तर, साँढेलाई लैजाने क्रममा समस्या भएको उहाँले बताउनुभयो । उहाँले घटनाबारे आफूले छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताउनु भएको छ । ‘कसैले पनि यसरी बाँधेर पशुलाई घिसार्दै लैजाँदैन, के भएको रहेछ हामी बुझ्दैछाैँ’ उहाँले भन्नुभयो ।