शुक्रबार , भाद्र १९, २०८३
शार्दुल र स्पीनर चम्किँदा बेंगलोरमाथि कोलकाताको शानदार जित – Deurali Khabar

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शार्दुल ठाकुरले शानदार ब्याटिङ अनि स्पीनरहरुले घातक बलिङ गरेपछि कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले पराजित गरेको छ ।

बिहीबार घरेलु मैदान इडन गार्डेनमा जित निकाल्ने क्रममा कोलकाताका लागि शार्दुलले आक्रामक ब्याटिङ गर्दै २९ बलमै ६८ रन बनाएका थिए । बलिङमा वरुण चक्रवर्तीले ४ तथा यसै खेलबाट डेब्यु गरेका सुयास शर्माले ३ र सुनिल नारिनले २ विकेट लिए ।

पहिलो जितपछि कोलकाताले दुई खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा पञ्जाबसँग कोलकाता पराजित भएको थियो । पहिलो खेलमा मुम्बईलाई हराएको बेंगलोरको भने यो पहिलो हार हो ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले खराब सुरुवात गरेपछि रहमानुल्लाह गुर्बाज र शार्दुल ठाकुरको अर्धशतकमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । ८९ रनमै ५ विकेट गुमाएको कोलकाताका लागि शार्दुल र रिंकु सिंहले १०३ रनको साझेदारी गरे । सातौं नम्बरमा ब्याटिङ गरेका शार्दुलले २९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रन बनाए ।

ओपनर गुर्बाजले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ५७ रन जोडे । यस्तै रिंकु सिंहले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मन्दिप सिंह र आन्द्रे रसेल खाता नखोली आउट भएका थिए ।

बेंगलोरका लागि डेविड विली र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, माइकल ब्रेसलवेल र हर्शल पटेलले समान १ विकेट लिए ।

दोस्रो इनिङ्समा कोलकाताका लागि स्पीनर चम्किएपछि २०५ रनको लक्ष्य पछ्याएको बेंगलोर १७.४ ओभरमै १२३ रनमा अलआउट भयो । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३, विराट कोहलीले २१, माइकल ब्रेसवेलले १९ र डेविड विलीले अविजित २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बेंगलोरलाई अलआउट गर्न कोलकाताका वरुण चक्रवर्तीले ३.४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । सुयास शर्माले ४ ओभरमा ३० रन खर्चेर ३ तथा सुनिल नारिनले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले पनि १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP