काठमाडौँ — पटक–पटक चर्चामा आइरहने अर्बपति हुन्, इलन मस्क । सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि चर्चासँगै विवादको पनि पर्याय बनेका मस्क फेरि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् । कारण हो, उनको अर्को कम्पनी स्पेस एक्सले गरेको पछिल्लो निर्णय ।
अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्कले सोमबार एक १४ वर्षीय किशोरलाई जागिर दिएका छन् । त्यो पनि सफ्टवेयर इन्जिनियरका रूपमा । उनी स्पेस एक्सका हालसम्मकै कम उमेरका कर्मचारी हुन् । र, अर्बपतिको कम्पनीमा जोडिन पाउने ती भाग्यमानी हुन्, अमेरिकाको सान फ्रान्सिस्कोका कैरान क्वाजी ।
११ वर्षको उमेरमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययनका लागि सान्टा क्लारा विश्वविद्यालय भर्ना भएका थिए क्वाजी । उनी यही महिना ग्य्राजुएट हुँदै छन् । विश्वविद्यालयको १७२ वर्षे इतिहासमा सबैभन्दा कम उमेरमै स्नातक सक्नेमा पर्छन् उनी । अंग्रेजीमा एउटा भनाइ छ– ‘एज इज जस्ट अ नम्बर (उमेर एउटा अंक मात्र त हो) ।’ त्यसैलाई चरितार्थ गरिदिएका छन् क्वाजीले ।
‘फन’ र ‘टेक्निकल्ली च्यालेन्जिङ’ अन्तर्वार्ता प्रक्रिया पूरा गरेपछि उनले कम्पनीसँग जोडिने मौका पाएको स्पेस एक्सले जनाएको छ । कम्पनीका अनुसार उनी मानिसलाई मंगलग्रहमा पठाउने स्पेस एक्सको परियोजनामा आबद्ध हुनेछन् ।
स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेको थियो । स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट बोकेर सोमबार बिहान फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च गरिएको थियो ।