सोमबार , चैत्र ३, २०८१
काठमाडौंको फोहोर विसर्जनमा अवरोध कायमै, ६ हजार ५ सय टन फोहोर सडकमा – Deurali Khabar

ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर आज पनि विसर्जन हुन सकेन।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।

बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो।

बुधबारको समझदारीअनुरूप अहिले बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको फोहोर पुर्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।

‘त्यहाँ फोहोर पुर्ने काम भइरहेको छ। स्थानीयसँग कुराकानी पनि भइरहेको छ। फोहोर विसर्जनका लागि हामीले प्रयास गरिरहेका छौं,’ श्रेष्ठले सेतोपाटीसँग भने।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर अहिले पनि आफूहरू छलफलमै रहेको बताउँछन्।

‘हामी संवेदनशील भएर छलफल गरिरहेका छौं, छिट्टै निकास निकाल्छौं, त्यहाँको समस्या समाधानमा महानगर गम्भीर छ,’ उनले भने।

सहरी विकास मन्त्रालयले सम्झौताअनुरूप काम गरे फोहोर विसर्जनमा व्यवधान नहुने ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईं बताउँछन्।

सहरी विकास मन्त्रालयमा भएको छलफलअनुसार फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्ने काम भइरहेको बताए।

त्यस्तै प्रभावित क्षेत्रको अध्ययनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको समूह पनि सिसडोल–बञ्चरेडाँडा क्षेत्र पुगेको छन्।

‘उहाँहरूले सोमबारदेखि अध्ययन थाल्ने जानकारी पाएका छौं, यसअघिको सम्झौता कार्यान्वयन र अहिलेको समस्या समाधानमा संघीय सरकार, काठमाडौं उपत्यकाका स्थानीय तह जिम्मेवार भए फोहोर विसर्जनमा समस्या हुँदैन,’ उनले भने।

धुनिबेसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङले सहरी विकास मन्त्रालयले आइतबार छलफल गर्ने तयारी रहेको बताए।

‘हामीलाई बैठकको सूचना त आएको छैन। बुधबारको छलफलमा धुनिबेसी र ककनीका प्रमुखहरू नभइसकेपछि त्यो बैठक टुंगोमा पुगेन। यहाँ अवरोध कायमै छ। अहिले फोहोरलाई माटोले पुर्ने (क्यापिङ) काम गरिरहेको छ,’ उनले भने।

बञ्चरेडाँडामा विसर्जनमा अवरोध भएपछि काठमाडौ उपत्यकामा ६ हजार ५ सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको निजी संघ-संस्थाका संकलकले बताए।

‘अहिले काठमाडौं उपत्यकामा ६ हजार ५०० सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको छ। अधिकांश सडकमै छन्। फोहोर विसर्जनमा स्थानीयबाट सहयोग पाएका छैनौं। फोहोर पुर्न हिजो बिहान ५, अपराह्न ३ र आज बिहान पनि ५ वटा टिपर पठाएका थियौं,’ फोहोरमैला व्यवस्थापन संघ (स्वमान)का महासचिव मित्र घिमिरेले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP