
धनगढी : धनगढीको मुख्य बजारका सडक निर्माणमा निर्माण व्यवसायीको चरम लापरवाही देखिएको छ। दुई वर्षको ठेक्का सम्झौता भएको मुख्य बजारको साढे १० किलोमिटर सडकको काम तीन पटक गरी एक वर्ष म्याद थपिसक्दा पनि अझै सकिएको छैन। अझ मुख्य बजार, बर्खाका बेला जोतिएपछि बजारमा हिलोले हिडिनसक्नु भएको छ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपाल सरकारको, कैलालीका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना लागु भएको छ। यस अन्तर्गत दुबैतर्फ ढल निकास सहितका सडक, फोहरमैला व्यवस्थापन र पालिकाका भवन निर्माणका कामहरु भइरहेका छन्।



प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकामा भने आयोजनाअन्तर्गत मुख्य बजारको कैलाली पुलदेखि ट्राफिक चौराहासम्मको सडक, सहिदगेटदेखि क्याम्पस, गुल्म चर्च सडक, क्याम्पसचोकदेखि क्याम्पस गेट, डिभोटी होटलदेखि पिपलचौतरा, पिपल चौतारादेखि लवलीचोक, मालपोत रोड र ज्योती रोड गरी ८ वटा सडकको साढे १० किलोमिटरको ठेक्का एकै प्याकेजमा भएको हो।
यी सडकको ठेक्का चितवनको कालिका कन्सट्रक्सनले पाएको छ। २०२० को अगस्त देखि २०२२ को अगस्टसम्म २४ महिनामा सक्ने गरी कालीकाले झण्डै ७७ करोडमा ठेक्का सम्झौता गरेको हो। तर निर्माण व्यवसायीले सहिदगेट क्याम्पस, क्याम्पस चोकदेखि क्याम्पस र मालपोत रोड कालोपत्रे गरे बाहेकका सडकमा खासै प्रगति गर्न सकेको छैन। ‘आठ वटा सडकको कुल भौतिक प्रगती ८१ प्रतिसत भएको छ। वित्तिय प्रगती ५९ प्रतिसत भएको छ। कोभिड, राईट अफ वे खाली हुन नसक्नु, रुख कटान लगायतका कारण देखाउँदै तीन पटक ठेक्काको म्याद पनि थपिएको छ’ शहरी विकास आयोजनाका सूचना अधिकारी ईन्जिनियर सौरभ कलौनीले भने।
उनले, परामर्शदाता कम्पनीले अब भने म्याद नथप्ने र थप्नै परे जरिवानासहित थप्ने गरी पत्रचार गरेको बताए। क्षेत्रीय शहरी विकास आयोजनाको अनुगमनका लागि नेपाल सरकारले विल्डिङ डेभलवमेन्ट अथोरिटि (बिडिए) लाई परामर्शदाताका रुपमा नियुक्त गरेको छ। १७ अगस्त २०२३ मा परामर्शदाता कम्पनीले कालिकालाई अब भने म्याद नथप्ने र थप्नै परे जरिवानासहित थप्ने आशयको पत्र पठाइसकेको छ। कालिकाको तीन पटक थपिएका म्याद कार्तिक मसान्तमा सकिँदैछ।
‘परामर्शदाता कम्पनीले अब जरिवानासहितको म्याद थप्ने भनेर पत्र पठाई सकेको छ। बढीमा १० प्रतिशत भन्दा बढी नपर्ने गरी पेनाल्टी लिन सकिने खरिद ऐनमा व्यवस्था छ’ सूचना अधिकारी कलौनीले भने।
निर्माण कम्पनी कालिका कन्सट्रक्सनका आवाशीय म्यानेजर प्रकाश चन्द्र खरालले आयोजना सुरु भएका बेला निर्धारित २ वर्षको समय अगावै सडक निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका थिए। धनगढी उपमहानगरपालिकाले पनि सडक निर्माणमा व्यवसायीको चरम लापरवाही देखिएको भन्दै असन्तुष्टि जनाएको छ। ‘मैले आयोजना अध्यक्ष विक्रम पाण्डे, उहाँका छोरा, आवासीय म्यानेजर सहितका सबैलाई भेटेर मुख्य सडकमा बढी समस्या भयो, छिटो निर्माण गर्नुपर्यो भनेर कतिपटक भने, भेटन नै गए तर खासै प्रगति भएन’ धनगढीका मेयर गोपाल हमालले भने।