
काठमाडौँ — नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ ।भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिने सहमति गरेको हो ।
दुवै देशका परराष्ट्रसचिवबीच भारतको हैदराबाद हाउसमा भएको बैठकमा भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि सहभागी थिए ।



भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त वार्तामा नागरिक नागरिकबीचको सम्बन्ध सुदृढीकरणका लागि रामायण सर्किटको परियोजना प्रस्तावमा छिटो अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।
द्विपक्षीय बैठकका लागि भारतका विदेशसचिव विनय मोहन क्वात्राको निमन्त्रणामा नेपालका परराष्ट्रसचिव मंगलबार भारतको राजधानी नयाँदिल्ली गएका थिए । मंगलबार नै उनीहरूबीच भएको द्विपक्षीय बैठकमा आर्थिक र व्यावसायिक सहयोग, कनेक्टिभिटी, विकास सहयोग, व्यापार, संस्कृति र नागरिक–नागरिकबीचको सम्बन्धलगायत विषयमा द्विपक्षीय सहयोगको सम्पूर्ण पक्षहरूमाथि समीक्षा भएको बताइएको छ ।
दुवै देशका परराष्ट्रसचिवहरूले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको चैतमा भएको भारत भ्रमण र त्यसपछि जेठमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको समयमा घोषणा गरिएका धेरै परियोजना र पहलहरूमा भएको प्रगतिको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बैठकमा नेपालबाट भारतमा भएको विद्युत् निकासीलगायत ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहयोगको पछिल्ला प्रगतिको सराहना गरिएको विज्ञप्तिमा बताइएको छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा संयुक्त रुपमा घोषणा भएको ‘संयुक्त भिजन स्टेटमेन्ट’ लाई मध्यनजर गर्दै यस्तो सहयोगलाई थप सुदृढ पार्न दुवै पक्षले काम गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । साथै, नेपालले भारतलाई निर्माणका लागि दिएको पश्चिम सेती र सेती नदी–६ परियोजना लाई लिएर भारतीय पक्षले चासो व्यक्त गरेको थियो ।
नेपाली पक्षले कोभिड-१९ महामारीका बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै लकडाउनको चरम अवस्थामा पनि व्यापारको आपूर्ति लाइन खुला राखेकोमा भारतीय पक्षलाई धन्यवाद दिएको थियो ।
दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा विद्युत् क्षेत्र, प्रसारण लाइन निर्माण, रेलमार्ग जडान, मोटरेबल पुललगायत महत्त्वपूर्ण पूर्वाधार र विभिन्न क्षेत्रमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको थियो ।
सचिवद्वय पौडेल र क्वात्राले पारवहन सन्धिको प्रोटोकल र ज्ञापनपत्रलगायत ट्रान्जिट सन्धिको प्रारम्भिक निष्कर्ष र व्यापार सन्धिको समीक्षालाई तीव्रता दिने विषयमा पनि छलफल गरेका थिए । मल आपूर्ति; गहुँ, चिनी, धान र चामलको निर्यातमा प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
दूतावासका अनुसार निर्वाध विद्युत् व्यापारबारे छलफल भएको थियो । दुई पक्षबीच सीमा सम्बन्धमा पनि कुरा भएको नेपाली पक्षलेरा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर‚ त्यसमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र र सुस्ताको सम्बन्धमा वार्ता गरेको वा नगरेको भन्नेबारे उल्लेख गरिएको छैन । समग्र सीमा विवादका विषय कुरा भएको मात्र उल्लेख छ ।
‘उनीहरूबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी क्षेत्रहरूमा सीमानाको काम पूरा गर्नेबारे विचार आदानप्रदान गरे,’ विज्ञप्तिमा भनिएको छ ।
भारतका विदेश सचिव क्वात्राले नेपाल भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्याल र नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा बुधबार रात्रिभोजको आयोजना गरेका थिए ।