‘चितवनसम्म पेट्रोलियम र एलपीजी पाइपलाइन विस्तारमा तीव्रता दिइने’ – Deurali Khabar

काठमाडौँ — नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ ।भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिने सहमति गरेको हो ।

दुवै देशका परराष्ट्रसचिवबीच भारतको हैदराबाद हाउसमा भएको बैठकमा भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि सहभागी थिए ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त वार्तामा नागरिक नागरिकबीचको सम्बन्ध सुदृढीकरणका लागि रामायण सर्किटको परियोजना प्रस्तावमा छिटो अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

द्विपक्षीय बैठकका लागि भारतका विदेशसचिव विनय मोहन क्वात्राको निमन्त्रणामा नेपालका परराष्ट्रसचिव मंगलबार भारतको राजधानी नयाँदिल्ली गएका थिए । मंगलबार नै उनीहरूबीच भएको द्विपक्षीय बैठकमा आर्थिक र व्यावसायिक सहयोग, कनेक्टिभिटी, विकास सहयोग, व्यापार, संस्कृति र नागरिक–नागरिकबीचको सम्बन्धलगायत विषयमा द्विपक्षीय सहयोगको सम्पूर्ण पक्षहरूमाथि समीक्षा भएको बताइएको छ ।

दुवै देशका परराष्ट्रसचिवहरूले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको चैतमा भएको भारत भ्रमण र त्यसपछि जेठमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको समयमा घोषणा गरिएका धेरै परियोजना र पहलहरूमा भएको प्रगतिको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बैठकमा नेपालबाट भारतमा भएको विद्युत् निकासीलगायत ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहयोगको पछिल्ला प्रगतिको सराहना गरिएको विज्ञप्तिमा बताइएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा संयुक्त रुपमा घोषणा भएको ‘संयुक्त भिजन स्टेटमेन्ट’ लाई मध्यनजर गर्दै यस्तो सहयोगलाई थप सुदृढ पार्न दुवै पक्षले काम गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । साथै, नेपालले भारतलाई निर्माणका लागि दिएको पश्चिम सेती र सेती नदी–६ परियोजना लाई लिएर भारतीय पक्षले चासो व्यक्त गरेको थियो ।

नेपाली पक्षले कोभिड-१९ महामारीका बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै लकडाउनको चरम अवस्थामा पनि व्यापारको आपूर्ति लाइन खुला राखेकोमा भारतीय पक्षलाई धन्यवाद दिएको थियो ।

दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा विद्युत् क्षेत्र, प्रसारण लाइन निर्माण, रेलमार्ग जडान, मोटरेबल पुललगायत महत्त्वपूर्ण पूर्वाधार र विभिन्न क्षेत्रमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको थियो ।

सचिवद्वय पौडेल र क्वात्राले पारवहन सन्धिको प्रोटोकल र ज्ञापनपत्रलगायत ट्रान्जिट सन्धिको प्रारम्भिक निष्कर्ष र व्यापार सन्धिको समीक्षालाई तीव्रता दिने विषयमा पनि छलफल गरेका थिए । मल आपूर्ति; गहुँ, चिनी, धान र चामलको निर्यातमा प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

दूतावासका अनुसार निर्वाध विद्युत् व्यापारबारे छलफल भएको थियो । दुई पक्षबीच सीमा सम्बन्धमा पनि कुरा भएको नेपाली पक्षलेरा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर‚ त्यसमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र र सुस्ताको सम्बन्धमा वार्ता गरेको वा नगरेको भन्नेबारे उल्लेख गरिएको छैन । समग्र सीमा विवादका विषय कुरा भएको मात्र उल्लेख छ ।

‘उनीहरूबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी क्षेत्रहरूमा सीमानाको काम पूरा गर्नेबारे विचार आदानप्रदान गरे,’ विज्ञप्तिमा भनिएको छ ।

भारतका विदेश सचिव क्वात्राले नेपाल भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्याल र नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा बुधबार रात्रिभोजको आयोजना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP