जनमतलाई सरकारमा फर्काउन गृहकार्य – Deurali Khabar

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सिट भएको जनमत पार्टीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । संसद्मा प्रस्तुत बजेट पारित भएलगत्तै जनमतलाई भनेअनुसार मन्त्रालय दिएर सरकारमा फर्काउने दाहालको तयारी छ ।

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारसँग माओवादी र जनमतको खटपट परिरहेका बेला दाहालले जनमतलाई संघीय सरकारमा ल्याउन खोजेका हुन् । पुसमा अब्दुल खानलाई खानेपानीमन्त्री बनाएर सरकारमा सहभागी जनमत अर्को पटक मन्त्रिपरिषद् विस्तारमा उद्योग मन्त्रालय नपाएपछि बाहिरिएको थियो ।

हाल माओवादीले पाएका मन्त्रालयबाट कुनै एक वा कांग्रेसले पाएको मन्त्रालय साटफेर गरी जनमतलाई दिने तयारी छ । सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले सकेसम्म सबै दललाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको नीति भएको उल्लेख गर्दै जनमतलाई मन्त्रालय छुट्याइने बताइन् । ‘सकेसम्म राष्ट्रिय सरकार बनाउने प्रधानमन्त्रीज्यूको नीति हो,’ सरकारको प्रवक्तासमेत रहेकी उनले भनिन् ।

दाहालसँग केही दिनअघि भएको कुराकानीमा दाहालले पर्यटन मन्त्रालय दिन सक्ने बताएको जनमत स्रोतले जनाएको छ । जनमतले माग गरेको उद्योग मन्त्रालय कांग्रेसको भागमा परेकाले माओवादीले जनमतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमध्ये एक दिन सक्ने सम्भावना छ । पर्यटनमा सुदन किराती र संघीय मामिलामा अमनलाल मोदी मन्त्री छन् । आफ्नो भारत भ्रमणका विषयमा असन्तुष्टि जनाएको भन्दै किरातीसँग प्रधानमन्त्री दाहाल चिढिएका छन् ।

जनमत अध्यक्ष सीके राउतले सरकारमा जाने बाटो खुलै रहेको बताए । ‘हामीले पाउने मन्त्रालय र अरू राजनीतिक मुद्दाको टुंगो लागेपछि सरकारमा जान सक्छौं, हाल बजेटबारे छलफल चलिरहेकाले यो पारित भएपछि कुरा हुन्छ होला,’ उनले भने । प्रवक्ता चन्दन सिंहले प्रधानमन्त्रीबाट एक मन्त्री र एक राज्यमन्त्री दिने संकेत पाएको बताए । ‘प्रधानमन्त्रीको व्यस्तताका कारण कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

मधेश प्रदेशमा जसपा र जनमतबीच तीव्र राजनीतिक प्रतिस्पर्धा चलिरहेका बेला यी दुई दललाई सरकारमा सहभागी गराउँदा आफूलाई समर्थन बलियो हुने दाहालको बुझाइ छ । मधेशमा प्रभाव भएका दुई दलबाट सरकारलाई समर्थन भएपछि प्रदेश सरकारमा माओवादीका लागि उपयुक्त स्थिति सिर्जना हुने उनको बुझाइ छ ।

मधेशमा माओवादीबाट सुनीता यादव उद्योग वाणिज्यमन्त्री र रहवर अन्सारी राज्यमन्त्री छन् तर थप एक मन्त्रालय नपाएको भन्दै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवसँग असन्तुष्ट माओवादी बिहीबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अनुपस्थित भएको थियो । मुख्यमन्त्रीसँग रहेको सूचना, सञ्चार तथा कानुन मन्त्रालयमा माओवादी संसदीय दलका नेता भरत साहको दाबी छ ।

माओवादी उपमहासचिव मात्रिका यादवले संघमा माओवादी र जसपाबीच गठबन्धन भए पनि मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवमा गठबन्धन चरित्र नदेखिएको टिप्पणी गरे । ‘मुख्यमन्त्रीले पेलेर जान खोजेपछि कसरी हुन्छ ?’ उनले भने, ‘मधेशमा आलोपालो सरकारको नेतृत्व गर्दा सबै कुरा स्पष्ट हुन्छ ।’

मधेश सरकारमा जनमतका वसन्तकुमार कुसवाह विनाविभागीय र महेन्द्रप्रसाद यादव शिक्षा तथा समाज कल्याण मन्त्री छन् । मुख्यमन्त्री यादवको कार्यशैलीप्रति जनमत असन्तुष्ट छ । मधेशलाई राजनीतिको मुख्य केन्द्र बनाएको जनमतलाई साथ लिएर माओवादीले मुख्यमन्त्रीलाई दबाब दिन चाहेको देखिन्छ । प्रधानमन्त्री दाहालले जनमतलाई सरकारमा सहभागी गराउँदा जसपा असन्तुष्ट भयो भने मधेसमा जसपाबिनै सरकार बनाउन सकिने माओवादी नेताहरू बताउँछन् । त्यस्तो अवस्थामा कांग्रेस, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीको गठबन्धन बन्ने छ । कांग्रेस २२, जनमत १३, लोसपा ९, माओवादी ८, एकीकृत समाजवादी ७ र स्वतन्त्र ६ सिट छ ।

एमालेको २३ सिट भए पनि संघीय सरकारको गठबन्धनका कारण उसलाई सरकार बनाउन कठिन छ । हाल सरकारको नेतृत्व गरेको जसपाको १६ सिट छ । जसपा अध्यक्ष उपेन्द्र यादब कुनै पनि हालतमा मधेश सरकार जोगाइराख्न चाहन्छन् । माओवादी, जनमत, लोसपा, एकीकृत समाजवादी र स्वतन्त्रको गठबन्धन बने त्यसले जसपामाथि ठूलो दवाव हुनेछ । त्यसैले प्रधानमन्त्री दाहालले मधेश सरकारलाई समेत केन्द्रमा राखी जनमतलाई सरकारमा ल्याउने तयारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP