
लण्डन, ५ जुलाई २०२६।



सोंपाल समाज यूकेको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा आउनुभएका तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित गायक–अभिनेता राजु गुरुङको लण्डनमा भव्य स्वागत गरिएको छ।
उहाँ शनिबार, ४ जुलाई २०२६ को साँझ लण्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो। आगमनको अवसरमा सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङले खादा ओढाएर स्वागत गर्नुभएको थियो भने समाजकी आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङले पुष्पगुच्छा प्रदान गर्दै हार्दिक स्वागत गर्नुभएको थियो।
स्वागत कार्यक्रममा तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा अध्यक्ष श्रीमती कमला गुरुङको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले पनि खादा तथा पुष्पगुच्छा प्रदान गरी कलाकार राजु गुरुङलाई स्वागत गर्नुभएको थियो।
यस अवसरमा सोंपाल समाज यूकेका पदाधिकारी, सदस्य, चेलीबेटी तथा समाजका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको आत्मीय स्वागतले कार्यक्रमलाई थप भव्य र उत्साहपूर्ण बनाएको थियो।

कलाकार राजु गुरुङको बेलायत भ्रमण सोंपाल समाज यूकेको वार्षिक समर भेटघाट तथा बार्बेक्यु (BBQ) कार्यक्रमलाई लक्षित गरी आयोजना गरिएको हो। कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय लोकदोहोरी तथा गुरुङ गीतहरूको विशेष प्रस्तुति दिनुहुनेछ। यसअघि पनि उहाँ तमु धिं यूकेको निमन्त्रणामा बेलायत भ्रमण गरी सफल सांगीतिक प्रस्तुति दिइसक्नुभएको छ।
सोंपाल समाज यूकेले आगामी ११ जुलाई २०२६, शनिबार लण्डनस्थित पोस्ट अफिस क्लबमा भव्य समर भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा राजु गुरुङका चर्चित गीतहरूको प्रत्यक्ष प्रस्तुति रहने आयोजकले जनाएको छ। नेपाली लोकसङ्गीत र गुरुङ सांस्कृतिक गीतका लोकप्रिय गायकका रूपमा परिचित उहाँको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने विश्वास गरिएको छ।
सोंपाल समाज यूकेले आफ्ना सम्पूर्ण सदस्य, चेलीबेटी, ज्वाइँ, भान्जाभान्जी, इष्टमित्र तथा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक निमन्त्रणा दिएको छ।


