६ वर्षसम्म द्रुतमार्गको ठेक्का लगाइसक्न सेना असफल – Deurali Khabar

२७ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) बनाउने जिम्मा लिएको नेपाली सेनालाई विभिन्न प्याकेजहरुमा ठेक्का लगाउनै मुश्किल पर्न थालेको छ । ६ वर्षको समयको तयारीपछि आह्वान भएका तीन वटा ठूला ठेक्काको प्रक्रिया एकैपटक स्थगित गर्दै सेनाले फेरि नयाँ ठेक्का आह्वान गर्न गृहकार्य थालेको छ ।

प्राविधिक रुपमा योग्य कम्पनी नआएको दाबी गर्दै सेनाले ठेक्का स्थगन गरेपछि द्रुतमार्गको निर्माण अवधि थप पर धकेलिने जोखिम देखिएको छ । कतिपय खण्डमा त सेनालाई ठेक्का गर्न रेखाङ्‍कन समेत टुंग्याउन सकस परेको छ ।

पछिल्लोपटक २०८३ चैतसम्म म्याद पाएको काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ८ को दुईमध्ये एउटा (क) र प्याकेज ९ को दुबै (क र ख)को ठेक्का प्रक्रिया स्थगित गरेको छ । सेनाले द्रुतमार्गलाई ११ प्याकेजमा विभाजन गरेर काम गरिरहेपनि काठमाडौंतर्फका प्याकेजका खण्डहरुको ठेक्का लगाउन चरम ढिलाइ भइरहेको छ ।

८ र १० वैशाखमा आह्वान भएका ३ वटा ठेक्काहरु सेनाले बुधबार सूचना निकाल्दै स्थगित गरिएको जानकारी दिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णबहादुर भण्डारीका अनुसार असार ४ र ५ मा ती ठेक्काहरुमा सहभागी कम्पनीहरु प्राविधिक रुपमा प्रभावग्राही नभएपछि ठेक्का प्रक्रिया स्थगन गरिएको उनले बताए ।

अब सेनाले ८ नम्बर प्याकेजको दोस्रो खण्ड (ख) र ९ नम्बर प्याकेजको पहिलो र दोस्रो खण्ड (क र ख) को निर्माणका लागि फेरि नयाँ ठेक्का आह्वान गर्नुपर्नेछ ।

यसअनुसार सेनाले ७२.५२ किलोमिटरमध्ये अहिलेसम्म ४६.२१ किलोमिटर खण्डको मात्रै ठेक्का लगाएको छ । निर्माण सुरु भएको ६ वर्षसम्म सेनाले २६.३१ किलोमिटर खण्डमा ठेक्का समेत लगाउन सकेको छैन ।

रेखाङ्‍कन समेत टुंगिएन

सेनाले १, २, ३, ४, ५, ६ र ७ नम्बर प्याकेजको ठेक्का लगाइसकेको छ । र, यसमा ठेकेदारहरु परिचालित भएर काम गरिरहेका छन् । प्रवक्ता भण्डारीका अनुसार ८ नम्बर प्याकेजको दोस्रो खण्ड (ख) र १० नम्बर प्याकेजको ठेक्का लाग्नु अघि द्रुतमार्गको रेखाङ्‍कन (रुट) संशोधन गर्न लागिएको छ ।

यसअघि रेखाङ्‍कन भएका रामचन्द्र भीर र संग्राम भीरको भौगर्भिक अवस्था कजमेर पाइएपछि सो क्षेत्रमा नयाँ रेखाङ्‍कन गर्न लागिएको छ । सो रेखाङ्‍कनको स्वीकृतिका लागि रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकिएको प्रवक्ता भण्डारीले बताए । स्वीकृतिपछि ८ नम्बर प्याकेजको दोस्रो खण्ड र १० नम्बर प्याकेजको ठेक्काको सूचना पनि प्रकाशित गरिने उनको दाबी छ ।

यसअघिको म्याद थपअनुसार मंसिर २०८१ सम्म सक्ने भनिएको यो आयोजनालाई मन्त्रिपरिषदले आयोजनाको म्याद २०८३ चैतसम्म थप समय दिने गरी निर्णय गरिसकेको छ ।

सुरुको लक्ष्यअनुसार यो मार्ग नेपाली सेनाले २०७८ भदौसम्म सम्पन्न गर्नुपर्ने थियो । त्यसअनुसार काम भएको भए यो परियोजना तयार भएर देशलाई आर्थिक लाभ दिन थालिसकेको हुन्थ्यो ।

लक्ष्यअनुसार काम नहुँदा पनि सेनाले आयोजनामा मनपरी ढंगले म्याद थपको अनुमति पाइरहेको छ । सुरुमा एक खर्ब ७५ अर्बमा तयार हुने अनुमान गरिएको यो परियोजनाको लागत अहिले दुई खर्ब १३ अर्ब रुपैयाँ पुगिसकेको छ । पछिल्लो म्याद थपसँगै आयोजना अझ महँगिने भएको छ ।
निर्धारित समयमा पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको द्रुतमार्ग परियोजनाको निर्माण अवधि पछिल्लो म्याद थपको निर्णयपछि १० वर्ष पुग्ने निश्चित भएको छ ।

प्रचण्ड नै प्रधानमन्त्री रहेका १४ जेठ २०७४मा वर्षभित्र सक्ने लक्ष्यसहित सेनालाई जिम्मा दिएर आयोजनाको शिलान्यास गरिएको थियो । २०४९ सालमा सम्भाव्यता अध्ययन भएको यो परियोजनाको ट्रयाक खोल्ने काम ०७० मा नेपाली सेनाबाटै भएको थियो । तराई–मधेशलाई काठमाडौंसंग एक घण्टाको दूरीमा ल्याएर वीरगञ्ज नाकाबाट अधिक लाभ हासिल गर्ने उद्देश्यसहित निर्माण थालिएको द्रुतमार्गको काममा सेनाले अनेकन बहानाबाजी गरेर ढिलाइ गर्दै आएको छ ।

सुरुमा डीपीआर नै नबनाई काम थालेको सेनाले सुरुङ, अग्ला र लामा पुलहरुको ठेक्का समयमै लगाउन सकेन । उसले अझै ४ वटा प्याकेजका ठेक्का अझै लगाउन सकेको छैन ।

ललितपुरको खोकनाबाट मकवानपुर हुँदै बाराको निजगढमा पूर्वपश्चिम राजमार्गसँग जोडिने द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर छ । यसमा पुल र सुरुङबाहेक ५५.५ किलोमिटर सडकखण्ड हुनेछ ।

राष्ट्रिय गौरबको यो आयोजनामा अहिलेसम्म करिब २४ प्रतिशत भौतिक प्रगति भएको छ । करिब ६ वर्षमा एक चौथाइ काम सकिएको यो आयोजना कहिले बनिसक्छ भन्ने अनिश्चित छ ।

निर्धारितभन्दा ६ वर्ष ढिलो हुनेगरी म्याद थपको नयाँ निर्णय भएपनि सेनाका प्राविधिक अधिकृतहरु नै २०८३ चैतसम्म सकिनेमा आशावादी छैनन् । उनीहरुका अनुसार प्राविधकि रुपमा जटिल पुलहरुको काम सुरु भएकै छैन, सुरुङमार्गको काम पनि सुस्त नै छ ।

द्रुतमार्गको १०.५९ प्रतिशत खण्डमा सुरुङ र ६.४१ प्रतिशतमा पुलहरु बन्नुपर्छ । मकवानपुरको महादेवडाँडा, धेद्रे र लेनडाँडामा बनिरहेको सुरुङको काम अति सुस्त छ । द्रुतमार्गमा साना, ठूला गरी ८७ वटा पुल बनाउनुपर्नेछ ।

सेनाका प्रवक्ता भण्डारीका अनुसार खोकनामा प्रस्थानविन्दुको विवाद टुंगिन सकेको छैन । ललितपुरको खोकनाबासीले प्रस्थान विन्दु नै परिवर्तन गर्न माग गरेका छन् भने कतिपयले मुआब्जाको दर चित्त नबुझाएर रकम बुझेका छैनन् । कतिपय जग्गा धनीले मुआब्जाका लागि आवश्यक कागजात नै जुटाउन पनि सकेका छैनन् ।

० (जिरो)देखि २६ किलोमिटरसम्मको सडक खण्डको ठेक्का लगाउन बाँकी छ । हालको विवादित अवस्थामा ठेक्का लागेपनि खोकनावासीले काम गर्न दिने देखिंदैन ।

आयोजनामा अहिलेसम्म कुल खर्च गर्नुपर्ने रकममध्ये २५ प्रतिशतभन्दा बढी खर्च भइसकेको छ । सर्भे/डिजाइन, जग्गा अधिग्रहण, रुख कटान लगायत कुनै पनि काममा शतप्रतिशत प्रगति भने छैन । ढुंगा–माटो कटिङ र फिलिङ समेत सकिएको छैन । मेसिनरी स्ट्रक्चर, रिटेनिङ वाल, बक्स कल्भर्ट, ग्याबिन, पाइप तथा कल्भर्टको काममा पनि लक्ष्यअनुसार प्रगति छैन ।

जसमध्ये ८, ९, १० र ११ नम्बर प्याकेजमा ठेक्का लगाएर छिटो काम सक्ने प्रयास भइरहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

चालु आर्थिक वर्षको अन्त्यसम्म यी ४ प्याकेजमा ठेक्का लागेर काम अघि बढ्ने लक्ष्य राखेपनि सेना ठेक्का समेत लगाउन असफल भइरहेको छ ।

चार वर्षभित्र सक्ने भन्दै १४ जेठ २०७४ मा द्रुतमार्गको निर्माण थालिएको थियो । तर, सेनाले प्याकेजमा २०७८ जेठमा ठेक्का लागेको हुनाले निर्माण अवधि त्योबेलै देखि गणना हुने बताउँदै आएको छ । शिलान्यासपछि करिब ४ वर्ष पूर्वतयारीको काम गरिएको दाबी गर्दै सेनाले त्यसलाई निर्माण अवधि मान्न नहुने बताउँदै आएको छ ।

‘खोकना क्षेत्रमा काम गर्न जग्गा नै पाएका छैनौं,’ प्रवक्ता भण्डारीले भने,‘सबैको सहयोगमा तोकिएको अवधिभित्रै काम सक्छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP