कोशीमा नयाँ सरकार बनाउन तीन विकल्पमा छलफल, सत्ता गठबन्धन आज पनि छलफलमा – Deurali Khabar

१४ साउन, काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ ।

शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरुसँग छलफल हुन लागेको हो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरुले काठमाडौंमा बोलाएकाले आएको बताएका छन् ।

दलहरुमा तीन विकल्पमा छलफल

सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत (४७ प्रदेश सभा सदस्यको समर्थन) पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ ।

पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन् ।

दोस्रो विकल्पको रुपमा उनीहरुले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन् । तर राप्रपाले वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरुसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताए ।

राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्ता गठबन्धनका नेताहरुको तयारी छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP