विपद्को भयले त्रसित कर्णाली, फितलो पूर्वतयारी – Deurali Khabar

२३ साउन, सुर्खेत । कमजोर भू-बनोट, छरिएर रहेका बस्तीहरू । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास । जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली ।

कर्णालीका पहाडी र हिमाली गरी नौ जिल्ला पहिरो र भित्री मधेशको सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने प्रदेश सरकारको अनुमान छ । कर्णालीका बस्तीहरू भौगोलिक रुपमै जोखिममा रहेको र तत्काललाई ती घरधुरी सार्न मिल्ने नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् । ‘हामीले जोखिम नक्सांकन गर्ने योजना बनाएका छौं । तर काम पूरा भएको छैन । नक्सांकन गरेको भए जोखिममा रहेका बस्ती तत्कालका लागि अन्यत्र सार्न मिल्थ्यो’, रोकायाले भने ।

कर्णालीमा यो वर्ष झण्डै ३५ हजार ३३३ जना विपदबाट प्रभावित हुने अनुमान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । प्राधिकरणका अनुसार ८ हजार ८५ घरधुरी बाढी पहिरोको जोखिममा छन् ।

विशेष गरी कर्णालीको कालीकोट विपदबाट धेरै क्षति हुने जिल्लामा पर्दछ । त्यसपछिको जोखिममा दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला रहेका छन् । हुम्ला, मुगु र डोल्पा पनि पहिरोको जोखिम छन् भने सुर्खेत बाढीको जोखिममा छ ।

विगत १० वर्षलाई फर्केर हेर्दा

२०७० देखि २०७९ चैतसम्ममा कर्णालीमा एक हजार ४८० वटा विपद्का घटना हुँदा ५०३ जनाको मृत्यु भएको छ भने २०३ जना बेपत्ता भएका छन् । यस्तै ७३६ जना घाइते भएका छन् ।

२०७७ असार २६ मा जाजरकोटको बारेकोटमा गएको पहिरो।

यस अवधिमा ६ हजार २३२ घरहरु प्रभावित भएको प्रदेश सरकारको तथ्याङ्क छ । पछिल्लो १० वर्षमा सडक दुर्घटना र कोभिड महामारी बाहेक विपदबाट मात्र ११ अर्ब १ करोड १७ लाख ७९ हजार २३८ रुपैयाँको क्षति भएको प्रदेश सरकारको तथ्यांक छ । यो भनेको औसतमा वाषिर्क १ अर्ब १० करोड १२ लाख क्षति भएको छ ।

प्रदेशमा सबैभन्दा ठूलो क्षति बाढी र पहिरोबाट हुने गरेको छ । बाढी र पहिरोपछि आगलागी, चट्याङ, हावाहुरी र महामारीबाट बढी क्षति हुने गरेको छ । पछिल्लो एक दशकमा ५५० वटा मनसुनजन्य विपद्का घटना हुँदा २९४ जनाको मृत्यु भएको प्रदेश सरकारको तथ्याङ्क छ । त्यस्तै १८८ जना वेपत्ता, २३६ जना घाइते भएका छन् भने ६ हजार ३० घरहरु आंशिक र पूर्ण क्षति भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP