नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहलाई नछोड सरकार – Deurali Khabar

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने आवाज अहिले सबैतिरबाट उठीरहेको छ ।

नागरिक समाज अनि सांसदहरुले पनि संसदमा यो प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरिरहेका छन् । खासगरी यो प्रकरणमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेपछि प्रधानमन्त्री पुष्प कमल दाहाल र उपप्रधान एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैतिरबाट प्रशंसा बटुलेका छन् ।

बुधवार कांग्रेस नेता एबं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परे । अर्का आरोपी नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी भने प्रहरीले पक्राउ पुर्जि जारी गरेपछि फरार भएका छन् ।

ठगीमा पर्नेहरुले प्रहरीमा दिएको उजुरीका आधारमा १२ चैतमा गिरोहका मुख्य योजनाकार मोरङका केशव दुलाल सहित तीन जना पक्राउ परे । पक्राउ पर्ने अरु दुइजनामा टेक गुरुङ र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा बस्ने सानु भण्डारी थिए । यी तीनजना पक्राउ परेपछि प्रहरीले बयान लिन शुरु गरेपछि यो ठगीको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने कुरा उजागार हुँदै गएको छ । उनीहरुले बयानका क्रममा पोल्दै जाँदा बुधबार पूर्व गृहमन्त्री खाँण पक्राउ परेका हुन् । खाँणसँगै उनी गृहमन्त्री भएका बखत स्वकीय सचिव रहेका नरेन्द्र केसी पनि बुधवारै पक्राउ परेका छन् ।

यस अघि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, उराष्ट्रपति कार्यालयमा जानु अघि गृह सचिव रहेका टेकनारायण पाण्डे,टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् । यसले गिरोहको पहुँच उच्च राजनीतिक तह र प्रशासनिक तहमा रहेको स्पष्ट देखिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउन भनेर करोडौं रकम ठगी गर्ने गिरोह शक्तिशाली भएकै कारण उनीहरुबाट पीडित पीडामै बस्न बाध्य छन् । प्रलोभनमा परेर कतिको घरबार डुबेको,ऋण काढेर ल्याएको पैसामा गिरोहले मोजमस्ती गर्दा सर्वस्व सकिएको पीडा पीडितको छ । सानु भण्डारीको एक छिमेकीका अनुसार टोलमा उनको रवाफ छुट्टै थियो । ती छिमेकीका अनुसार भण्डारी प्रहरी प्रशासन,राजनीतिक नेतृत्व सबै उनको हातमा रहेको भनेर प्रभाव र पहुँचको धाक लगाउँथे । अहिलेसम्म खाँण सहित १२ जना पक्राउ परेका छन् ।

राजनीतिक दलका शक्तिशाली नेताहरु धमाधम पक्राउ पर्न थाल्दा यो ठगी प्रकरणलाई कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिईने त होईन भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । यसमा सरकाले खुट्टा कमायो भने पीडित पीडामै बाँच्न बाध्य हुनेछन भने यस्ता संगठित रुपमा ठगी गर्ने गिरोहको मनोबल बढ्ने छ ।ठगीमा संलग्नलाई जोगाउन खोज्नेहरुप्रति सांसद र नागरिक समाज चनाखो हुन जरुरी छ । नेपाली नागरिकलाई अनागरिक बनाएर रकम उठाउने यस्तो डरलाग्दो अपराधिक गिरोहलाई फेरि माथि उठ्न दिने काम कहि कतैबाट नहोस् ।

प्रलोभनमा परेर पीडित बनेकाहरुलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा पनि सरकार लाग्नु पर्छ । उनीहरुले सापटी लिएर,ऋण काढेर, आफ्नो जायजेथा बेचेर गिरोहलाई बुझाएको पैसा फिर्ता कसरी गराउने भन्ने कुरामा पनि सरकार गम्भीर हुन जरुरी छ । आफ्ना सन्तानलाई राम्रो बानी व्यवहार,संस्कार,मेहनत सिकाउने पहिलो काम अभिभावकको हो । तर यो ठगी प्रकरणमा टोप बहादुर रायमाझीको छोरा,अनि ईन्द्रजित राईको छोरा पनि संलग्न हुनुले गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP