सिरुबारी गाउँ यूकेको कार्यक्रमबाट झन्डै ५ लाख बचत




लन्डन । दक्षिण एसियाको पहिलो होमस्टे गाउँ सिरुबारीबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको संस्था सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सोहि कार्यक्रममा डेबिड गुरुङ को अध्यक्षता रहेको कार्यसमितिले पनि पुर्णता पाएको छ,
साउथ ह्यारोस्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा शनिबार ११ अक्टुबरका दिन दसैं, तिहार कार्यक्रम सम्पन्न भएको हो । सिरुबारी गाउँ यूकेका अध्यक्ष डेभिड गुरुङ र ज्येष्ठ सदस्य निर्मला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उद्घाटनपछि नेपालको राष्ट्रिय गान गाइएको थियो ।
कुशल सञ्चालक महासचिव धनबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा समाजका पितृहरू साथै देशका दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेर सामूहिक प्रार्थना गरिएको थियो । नेपालबाट आएका प्रख्यात कलाकारद्वय जुनाश्रीस मगर र तीलक गुरुङका साथ सबैले बुद्ध प्रार्थना गाएर कार्यक्रमलाई भावनात्मक र धार्मिक वातावरणमा रंगिन तर अलग विशेषता भएको माहोल सिर्जना गरिएको आयोजकले जनाएको छ । कलाकारहरूको प्रस्तुतिसँगै उपस्थित समुदायले पितृहरूलाई सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा कार्यसमितिलाई पूर्णता दिइएको थियो । कार्यसमिति अध्यक्षमा डेभिड गुरुङ, उपाध्यक्षहरूमा नवराज गुरुङ र तेजमान गुरुङ, धनबहादुर गुरुङ महासचिव, रङ्गना गुरुङ कोषाध्यक्ष चयन भएका छन् ।
सदस्यहरुमा सन्तोष गुरुङ, कृष्ण गुरुङ, सुजन गुरुङ र नवीन गुरुङ चयन भएका छन् । त्यस्तैगरी विजयबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ, प्रकाश गुरुङ र तोरण गुरुङ सल्लाहकारमा चयन भएका छन् भने महिला चेलीबेटीको संयोजक जेकी गुरुङ चयन भएकी छन् ।
उक्त दिनमा डा.संयोग गुरुङ, सिनियर म्यानेजर रङ्गना गुरुङ, कर्पोरल पुकार गुरुङ र डब्लूओवान वसन्त गुरुङ, चार्टर्ड एकाउन्ट सुचित्रा गुरुङ, सिनियर वार्ड सिस्टर सृष्टी गुरुङ र डा. विनय गुरुङ ज्वाईंलाई समाजद्वारा सम्मान गरिएको थियो ।
जुनसुकै कार्य गर्दा पनि आर्थिक पक्षको ठूलो भूमिका हुन्छ । सिरुबारी नासाको यो पहिलो कार्यक्रममा आफ्नो जन्मभूमि र माटोलाई माया गर्ने व्यक्तित्वहरू (सदस्यहर र चेलीबेटीहरू)ले खुलेर समाजलाई सहयोग गरेका छन् । उक्त दिनको कार्यक्रम खर्च १ हजार ६४० पाउन्ड भुक्तानी गरेर २ हजार ७०६ पाउण्ड अर्थात झन्डै ५ लाख बचत भएको अध्यक्ष डेबिट गुरुङले जानकारी दिए ।

