कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ – Deurali Khabar

पोखरा, असार ११। कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायीहरूको भेलाले होम गुरुङको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरेको छ।

२०८३ साल असार ११ गते सम्पन्न व्यवसायीहरूको भेलाले होम गुरुङलाई संयोजक, सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर, तथा सदस्यहरूमा करिश्मा बराल र नौजङ गुरुङ लाई चयन गर्दै पाँच सदस्यीय तदर्थ समिति गठन गरेको हो।

नवनिर्वाचित तदर्थ समितिलाई कास्की जिल्लाभित्र सञ्चालित दोहोरी साँझ तथा रोधीघर व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, व्यवसायीहरूबीच आपसी सहकार्य र एकता अभिवृद्धि गर्ने तथा आगामी दिनमा संस्थालाई विधिवत् संगठनात्मक स्वरूप प्रदान गर्ने जिम्मेवारी दिइएको छ।

भेलामा सहभागी व्यवसायीहरूले दोहोरी क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्दै व्यवसायलाई थप मर्यादित, व्यवस्थित र पर्यटनमैत्री बनाउन साझा पहल आवश्यक रहेको धारणा राखेका थिए।

तदर्थ समितिमा कास्की जिल्लाका विभिन्न दोहोरी साँझ तथा रोधीघर व्यवसायीहरूको सहभागिता रहेको छ। जसअन्तर्गत विशाल दोहोरी साँझ, मान्द्रो दोहोरी साँझ, डाँडाघरे दोहोरी साँझ, झल्को रोधीघर, हाम्रो फेवा दोहोरी क्लब, टप भन्ज्याङ दोहोरि साँझ, सात ताल दोहोरी साँझ, आँधीखोला दोहोरी साँझ, रिदम दोहोरी साँझ, गामबेसी रोधी क्लब, सफल बिसौनी दोहोरी साँझ, ससुराली दोहोरी साँझ, साइनो रोधी नाचघर तथा तालबाराही दोहोरी साँझ आबद्ध रहेका छन्।

नवनिर्वाचित संयोजक होम गुरुङले व्यवसायीहरूको साझा हित, व्यवसायिक एकता र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP