

स्याङ्जा । रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका र दुर्घटना मा परी ज्यान गुमाएका हरिनास गाउँपालिका–१, स्याङ्जाका स्वर्गीय चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।



गत जुन २, २०२६ मा क्रोएसियाको पुला क्षेत्रमा भएको दुर्घटनापछि उपचारका क्रममा निधन भएका थापाको आश्रित परिवारका लागि संकलित ६ लाख ५६ हजार ४ सय रुपैयाँ आर्थिक सहयोग मृतककी श्रीमती तथा आफन्तजनको उपस्थितिमा घरमै पुगेर हस्तान्तरण गरिएको हो।
स्वर्गीय थापाको निधनपछि शव नेपाल ल्याउने प्रक्रिया तथा परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्याङ्जा समाज क्रोएसियाको नेतृत्वमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। दुर्घटनामा निधन भएको ३४औँ दिन जुलाई ४ मा उहाँको शव नेपाल ल्याइएको थियो।
उक्त अभियानमार्फत क्रोएसियामा रहेका नेपाली संघसंस्था, नेपाली युथ क्लब क्रोएसिया, क्रोएसियामा रहेका विभिन्न ठूला कम्पनीहरू स्पार (SPAR), स्टुडेनिक कोन्जुम (Studenac Konzum) मा कार्यरत विभिन्न कम्पनीमा कार्यरत नेपाली दाजुभाइ तथा विभिन्न शहरमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गरिएको थियो। साथै युरोपमा रहेका स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय समितिका पदाधिकारी, स्याङ्जा समाज बेल्जियम तथा अन्य सामाजिक व्यक्तित्वहरूले समेत सहयोग गरेका थिए।
संकलित ३ हजार ६ सय ७३ युरो बराबरको नेपाली रुपैयाँ ६ लाख ४१ हजार ३ सय ७८ तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको तर्फबाट थप १५ हजार २२ रुपैयाँ गरी कुल ६ लाख ५६ हजार ४ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका विशिष्ट व्यक्तित्व राजेश अर्याल, संरक्षक प्रकाश श्रेष्ठ, सल्लाहकारहरू भोला पौडेल र सुरेश रेग्मी, पूर्व सल्लाहकार मोहनी खनाल, कोषाध्यक्ष चिरञ्जीवी ढकाल, स्याङ्जा स्रष्टा सदनका महासचिव तथा लोकदोहोरी गायक घनश्याम रिजाल, स्याङ्जा समाज क्रोएसियाका कार्यसमिति सदस्य सुजन पोख्रेल तथा पत्रकार रोशन लामिछानेको उपस्थिति रहेको थियो।
कार्यक्रमबारे स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव तथा स्याङ्जा समाज क्रोएसियाका संस्थापक अध्यक्ष ओमप्रकाश पोख्रेलले जानकारी दिएका हुन्।
रोजगारीका लागि करिब एक वर्षअघि क्रोएसिया पुगेका स्वर्गीय थापा गत मार्च महिनामा सडक दुर्घटनामा परी उपचाररत रहँदा जुन २ मा निधन भएको थियो। उहाँको परिवारमा श्रीमती र ७ वर्षीय छोरा रहेका छन्।


