स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज – Deurali Khabar

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो ।  निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

महोत्सवमा स्मारिका प्रकाशितगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीलाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् ।

यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

संरक्षणमा गरिएको प्रयासस्वरुप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैँडाको सङ्ख्या ६ सय ९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै विसं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो ।

व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का  चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको छ । निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ ।

ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ ।

हालसम्म रु एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताए । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अफ्ठ्याराहरु भएको भन्दै तिनीहरुलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ । निकुञ्ज स्थापनाको ५० औँ वर्षको अवसरमा वर्षभरिनै संरक्षणसँग सम्वन्धित विभिन्न गतिविधिहरु गरिँदैछ ।

नेपाल फोटो पत्रकार महासङ्घको महाधिवेशन सौराहामा
नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन आजदेखि सौराहामा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा देशभरबाट ६ सय जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।
केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले आजदेखि महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिए । देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिनअघि देखि भेला सुरु गरिने रेग्मीको भनाइ छ ।

महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक÷एकजना पदाधिकारीसहित कम्तीमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरिने रेग्मीको भनाइ छ । भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणापत्र जारी गर्दै महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताए । महासङ्घको सातवटै प्रदेश र ७४ वटा जिल्लाञ समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP