
कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना हुँदा शाहीको पक्षमा ५ हजार ५६९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही–कुँवरबीचको मतान्तर ३ हजार २०९ छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले २२२ पाएका छन् ।



प्रदेश तर्फ (क) मा ७ हजार ३६४ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापछि ललितजंग शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन् भने उनी विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रवहादुर शाहीले २ हजार ९४४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शाहीले कांग्रेस नेता शाहीलाई ८४५ मतान्तरले पछि पारेका छन् ।
यहाँ पनि एमाले तेस्रो नम्बरमा छ । एमालेका धिरेन्द्रराज गिरीले १ हजार ७८५ मत सहित ललितजंगलाई पछ्याइरहेका छन् ।
नेमकिपाका राजेश्वर देवकाटाले २४२ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश सभा (ख) तर्फ ५ हजार ५३० मत गणना हुँदा कर्णाली सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका समाजवादीका पदमबहादुर रोकायाले २ हजार ३३ मत पाएर लिड गरिरहेका छन् ।
उनका प्रतिस्पर्धी एमालेका टेकराज पछाईले १ हजार ८४७ मत प्राप्त गरेका छन् ।