विश्वकप २०२२ का १० घटना : जुन कसैले अनुमान नै गरेका थिएनन् – Deurali Khabar

२७ मंसिर, काठमाडौं । कतार विश्वकप २०२२ सेमिफाइनल चरणमा पुगिसकेको छ । यसमा अर्जेन्टिना, फ्रान्स, क्रोयसिया वा मोरक्को मध्ये एकले विश्वकपको उपाधि उचाल्ने छ ।

खेल सेमिफाइनल चरणमा पुग्दा यस संस्करणमा धेरै कुराहरु नयाँ देखियो । केही यस्ता पलहरु पनि भए जसलाई फुटबल इतिहासमा भुल्न गाह्रो छ ।

इरानका खेलाडीले खेलअघि गाएनन् राष्ट्रिय गान

इरानका खेलाडीले विश्वकपको पहिलो खेलमा खेलअघि गाइने राष्ट्रिय गान गाएनन् । यो विश्वकपमा भएको एक अनौठो घटना थियो । इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा राष्ट्रिय गीत नगाएर उनीहरुले इरानमा भएको एक घटनाको विरोध गरेका थिए ।

इरानमा २२ वर्षीय महसा अमिनीको नैतिक प्रहरी हिरासतमा मृत्यु भएपछि देशभर विरोध चलिरहेको थियो । त्यो विरोधमा साथ दिँदै इरानी खेलाडीले राष्ट्रिय गान गाएका थिएनन् ।

उनीहरुको उक्त कार्यको कारण इरानी सरकारले दबाब महसुस गरी गत हप्ता नैतिक पुलिसलाई निलम्बन गर्‍यो ।

अर्जेन्टिनामाथि साउदी अरेबियाको जीत

अर्जेन्टिनाको यो विश्वकप एक अकाल्पनिक नतिजाबाट सुरु भयो । पहिलो खेलमा नै साउदी अरेबियासँग २-१ हार्‍यो ।

प्रतियोगितामा छनोट भएको फिफा वरीयताको दोस्रो सबैभन्दा कमजोर टिमले अर्जेन्टिनालाई हराउनु एक अप्रत्यासित नतिजा हो । दोस्रो हाफमा पाँच मिनेटको अन्तरालमा दुई गोल गर्दै साउदीले फुटबल जगतमा एक राम्रो सनसनी मच्चायो ।

तर समूह चरणको अन्य दुई खेल गुमाउँदै साउदीले समूह चरण पार गर्न सकेन । साउदीको त्यो जीत टिमको मात्रै थिएन पूरै देशको जीत थियो । जसका कारण साउदी अरेबियाले एक दिन राष्ट्रिय बिदा नै दिएको थियो ।

जर्मनीका खेलाडीले हातले मुख छोप्नु

समूह चरणको पहिलो खेलअघि सामूहिक फोटो खिचाउने क्रममा जर्मनीका खेलाडीले हातले मुुख छोप्दै रंगभेदी कार्यको विरोध जनाएका थिए ।

प्रतियोगिता सुरु हुनुअघि इंग्ल्यान्ड, वेल्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र डेनमार्कका कप्तानहरुले रंगभेदी कार्यको विरोध स्वरुप ‘वान लभ आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए ।

फिफाले यस्तो कुनै पनि किसिमको आर्मब्यान्ड लगाउन नपाउने भनेपछि विरोधस्वरुप उनीहरुले आफ्नो हातले मुख छोपेर प्रिम्याचमा सामुहिक फोटो खिचाएका थिए ।

मेक्सिकोविरुद्ध मेसीको गोल

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा साउदी अरेबियासँग २-१ ले पराजित भएको अर्जेन्टिनाको विश्वकप सुरुवात मेक्सिकोसँग २-० को जित पछि मात्रै सुरु भयो । निकै नै दबाबमा भइरहेको खेलमा दोस्रो हाफमा लियोनल मेसीले देब्रे खुट्टाले आउटसाइड बक्सको तल्लो कुनामा गोल गर्दै अर्जेन्टिनालाई राहत दिलाएका थिए ।

ब्राजिलका खेलाडीको साम्बा नाच

एसियन राष्ट्र दक्षिण कोरियालाई पहिलो हाफमा नै ४-० ले अग्रता बनाए पछि ब्राजिलियन खेलाडीले मैदानमा साम्बा नाचको झलक देखाएका थिए । अन्तिम १६ मा ब्राजिलसँग ४-० ले पराजित हुँदै दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको थियो ।

वेगहोस्टको उत्कृष्ट प्रतिभा देखिएको क्षण

नेदरल्याण्ड्सका स्ट्राइकर वोट वेगहोस्टले अर्जेन्टिनासँगको क्वाटरफाइनल खेलमा एक उत्कृष्ट गोल गरे । उनले थप गरिएको ११ मिनेटको इन्जुरी टाइममा अर्जेन्टाइन डिफेन्सलाई छक्काउँदै नेदरल्यान्ड्सलाई २-२ बराबरीमा पुर्‍याएका थिए । खेलमा उनले उनको फुटबल शैली र प्रतिभाको उत्कृष्ट नमुना देखाए । उनको त्यो गोलले विश्वका लाखौं फुटबल समर्थकलाई आश्चर्यचकित पारेको थियो ।

वेगहोस्टको गोलले नेदरल्याण्ड्स र अर्जेन्टिनाको खेल २-२ बराबरीमा पुगेको थियो । खेलपछि पेनाल्टी सुट आउटमार्फत अर्जेन्टिनाले जितेको थियो ।

उमेरले नछेकेको क्रोएसिया

विश्वकप २०२२ को खेलमा अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले क्वाटरफाइनल यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा ब्राजिललाई हराउँदै क्रोएसिया तेस्रो पटक विश्वकपको सेमिफाइनल प्रवेश गर्‍यो ।

यस प्रतियोगितामा केही सुस्त सुरुवात लिएको क्रोएसियाका खेलाडीको गति र उमेर सबैको चिन्ताको विषय थियो । मैदानमा भने गति र उमेरले उनीहरुलाई छेक्न सकेन । २०१८ मा पहिलो पटक फाइनल पुगेको क्रोएसियाले सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

मोरक्कोको उडान

विश्वकपमा पहिलो पटक कुनै अफ्रिकी राष्ट्र सेमिफाइनल प्रवेश गरेको छ । मोरक्कोका खेलाडीले क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गरेपछि प्रशिक्षक वालिद रेग्रागुईलाई उफ्रार्दै ठूलो खुसी व्यक्त गरे । यस विश्वकपमा मोरक्को उडान भर्न टिमका गोलकिपर यासिन बोनोको निकै ठूलो भूमिका रहेको छ । गोलपोष्टमा निकै राम्रो पकड भएका उनले पेनाल्टी सुटमा पनि उत्तिकै उत्कृष्ट बचाउ गर्छन् ।

हरेक विश्वकपमा यस्तो एउटा टिम आउँछ जसले अप्रत्याशित नतिजा निकाल्छ । २०१० को विश्वकपमा घाना, २०१४ मा कोस्टरिका र २०१८ मा क्रोयसिया जस्तै यो पालि मोरक्कोको टिमको उडान अप्रत्याशित छ । बेल्जियम, क्रोएसिया भएको समूहमा विजेता बन्दै स्पेनलाई अन्तिम १६ मा पेनाल्टीमा पराजित गर्दा तथा पोर्चुगललाई क्वाटरफाइनलमा पराजित गर्दै मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो ।

रोनाल्डो बेञ्चमा थन्किनु

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो अन्तिम १६ मा स्वीट्जरल्यान्डसँगको खेलमा मैदान प्रवेश गर्न पाएनन् ।

यो पोर्चुगिज तथा रोनाल्डो समर्थकहरुका लागि निकै नै आश्चर्य लाग्ने कुरा थियो । उनको ठाउँमा गोन्सालो रामोसलाई मैदानमा लगियो । त्यस्तै क्वाटरफाइनलमा मोरक्कोसँगको खेलमा पनि उनी पहिलो रोजाइमा परेनन् । उनी ५१ औं मिनेटमा मात्र मैदान प्रवेश गरे ।

उनलाई दक्षिण कोरियासँगको खेलमा उनले गरेको व्यवहार मन नपरेका कारण मैदानमा राखेको प्रतिक्रिया प्रशिक्षक सान्तोषले दिएका थिए ।

रोनाल्डोजस्तो कप्तान बेन्चमा बस्नु यो विश्वकपमा भएको एक निकै अनपेक्षित र आश्चर्यको कुरा थियो । पोर्चुगलले युवा खेलाडीलाई मौका दिँदा उनी बेन्चमा परेका थिए ।

इन्जुरी टाइम

यस पटकको विश्वकपमा थप गरिने इन्जुरी टाइमको कारण निकै चर्चामा रहृयो । इंग्ल्यान्ड र इरानबीचको खेलमा नियमित ९० मिनेटको खेलमा २७ मिनेट इन्जुरी टाइम थपिएको थियो ।

यस पटकको विश्वकपको समुह चरणमा कुल ५६३ मिनेट इन्जुरी टाइम थपिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP