
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा पेसी तोकिएको छ ।



यसअघि पनि सो निवेदनमा दुईपटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रोपटक इजलासको समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन ।
आज पेसी सूची ४ नम्बरमै तोकिएको छ । लामिछानेको पक्षबाट स्थगित नगरिए सुनुवाइ हुनेछ ।
लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।