
२८ पुस, काठमाडौं । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले अझैसम्म पनि न्यायको पहल नगरेको जनाएको छ ।
विश्वभरको मानव अधिकारको अवस्थाबारे रिपोर्ट प्रकाशित गर्दै उसले द्वन्द्वकाल र अहिलेको समयमा भएका मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले न्यायका लागि पहल नगरेको जनाएको हो ।



ह्युमन राइट्स वाचको विश्व रिपोर्टमा लेखिएको छ, ‘नेपाल सरकारले यातना, जबरजस्ती बेपत्ता र गैरन्यायीक हत्याका घटनाबारे छानबिन गरेको छैन, उसले द्वन्द्वसम्बन्धी मुद्दाहरूलाई नियमित अदालतमा सम्बोधन हुनबाट रोकेको छ र सुरक्षाकर्मीहरूद्वारा हाल पनि अधिकार उल्लंघनका घटना भइरहेका छन् भन्नेबारे आरोपमाथि विश्वसनीय तवरले छानबिन गर्न वा अपराधका लागि सजाय दिलाउन सकेको छैन ।’
अरुको दाँजोमा महिला र दलित तथा अन्य सीमान्तकृत समुदायका मानिसहरू अधिकार उल्लंघनका घटनाबाट पीडित हुने गरेको रिपोर्टमा उल्लेख छ ।