नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते बन्द नहुने – Deurali Khabar

२९ पुस, चितवन । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो ।

पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर काम भैरहेको छ ।

माघे संक्रान्तिका भक्तजन तथा अन्य यात्रुहरुलाई मर्का नपरोस् भनेर दुई दिन सडक खुला नै गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । देवघाटमा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजनहरु आउने गर्दछन् ।

अहिले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार सो सडक खण्डमा पर्ने तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भएकाले सडक नै बन्द गरेर काम गर्नुपरेको हो । यी चार कठिन भूगोलमध्ये अझै बढी चुनौती चिसेन्जी खोला र तुइन खोलामा छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ ।

तोकिएको एक महिनाको अवधिमा पनि भित्तो काट्ने काम नसकिएपछि ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले थप २१ दिनको म्याद माग गरेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको लागि भित्ता काट्ने काम सकिए पनि चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काटेर सक्न बाँकी नै छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरे पनि स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने हो, सो बारेमा निर्णय लिने बताए । ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ चैत १० गते एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । हालसम्म नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन् । बाँकी १५ वटा पुल बनिरहेका छन् । १५ मध्ये पनि ९ वटा पुल निर्माण सम्पन्नको करिब अन्तिम चरणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP