काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए ।
सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाको प्रमुख भूमिका थियो । अभिनेता निखिल उप्रेतीका दाइ समेत रहेका हरिले ‘लंका’मा केमियो रोल गरेका थिए । उनलाई फिल्ममा प्रहरीको बर्दीमा देख्न सकिन्छ ।
उप्रेती नेकपा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको चुनावी अभियानमा बिरामी भएपछि भाइ निखिलले दाइलाई भोट माग्दै अभियानमा सघाएका थिए ।
सर्लाहीमै घर भएका फिल्म निर्देशक श्याम भट्टराईले असल व्यक्तित्व भएको र स्थानीय स्तरमा लोकप्रिय मान्छे खोजेको बेला हरिलाई अभिनय गरिएको स्मरण गर्छन् । उप्रेती रक्षामन्त्री बनेपछि अहिले अमेरिकामा रहेका निर्देशक भट्टराईले उनलाई बधाई दिएका छन् । हरिले आफ्नो दृश्यको स्वरांकन समेत आफैं गरेको भट्टराईले जनाए ।