सोमबार , कार्तिक १९, २०८१
राष्ट्रिय महिला भलिबल : न्यु डायमण्ड च्याम्पियन‚ एपिएफ उपविजेता – Deurali Khabar

काठमाडौं : विभागीय टोली एपिएफ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ।

 

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनलमा न्यु डायमण्डले लगातार ५ संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलोपल्ट विजेता भएको हो।

फाइनलमा पहिलो पटक पुगेको न्यु डायमण्ड च्याम्पियन भएको हो। यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र नेपाल पुलिसबीच फाइनल खेल भएको थियो भने पाँचौ संस्करणमा एपिएफ र त्रिभुवन आर्मीले फाइनल खेलेका थिए।

न्यु डायमण्डले प्रतिष्पर्धात्मक खेलमा एपिएफविरुद्ध पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट भने डायमण्डले २१–२५ ले गुमाउन पुग्यो। तेस्रो सेटमा सम्हालिएको प्रदर्शन गरेको न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै २–१ को अग्रता लिन सफल भयो।

तेस्रो सेटमा एक समय १६–६ को अवस्था हुँदा न्यु डायमण्डले लगातार १० अंक गुमाउन पुगे पनि अन्तिममा २५–२२ ले विजयी हुन सफल भएको थियो। चौथो सेटमा भने न्यु डायमण्डले सम्हालिएको प्रदर्शन गर्न सकेन। शुरुवातदेखि नै पछि परेको डायमण्डले २४–२६ ले गुमाउन पुग्यो।

सोही सेटमा २०–२१ को अवस्थामा एपिएफकी स्पाइकर निरुता ठगुन्ना चोटग्रस्त हुँदै कोर्ट छोड्नुपरेको थियो। त्यसपछि निर्णायक तथा पाँचौं सेटमा पुगेको खेलमा ३–३ को बराबरीपछि अग्रता लिँदै डायमण्डले १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो।

फाइनल खेलमा प्रगति नाथले प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार रूपैयाँ र ट्रफी हात पारिन्।

४ टोलीबीच भएको प्रतिष्पर्धाबाट च्याम्पियन बनेसँगै डायमण्डले ३ लाख रूपैयाँ नगद र ट्रफी पायो। उपविजेता एपिएफले १ लाख ५० हजार रूपैयाँ नगद हात पार्दा तेस्रो स्थानका लागि मंगलबार नै भएको प्रतिष्पर्धामा आर्मीलाई पराजित गरेको पुलिसले ७५ हजार रूपैयाँ हात पार्‍यो।

शेरबहादुर प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन न्यु डायमण्डकी स्पाईकर प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद ५० हजार रूपैयाँसहित आकर्षक पुरस्कार प्राप्त गरिन्।

डायमण्डकी स्पाइकर सलिना बुढा मगर इमर्जिङ खेलाडी घोषित हुँदै १५ हजार रूपैयाँ प्राप्त गर्दा डायमण्डकै प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने।

एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुँनिदा एपिएफकी सरस्वती चौधरी सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर चुनिइन्। उनीहरूले १५/१५ हजार रूपैयाँ र ट्रफी प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP