‘कांग्रेसले प्रचण्डलाई धोका दिँदैन, दुई तिहाइ मत पुग्छ – Deurali Khabar

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै पनि हालतमा धोका नदिने बताएका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाइ बहुमत पुर्‍याउने आफूहरूको तयारी रहेको पनि सुनाए ।

आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘विगतमा अप्रत्यासित कुरा भएका हुन् । प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि छैन् । विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ । दुई तिहाईको विश्वास अघि पुर्‍याउने पक्षमा छौं ।’

उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने सुझाए । उनले भने,‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ । सहमति भएन भने सरकार बनाउने कुरा र भत्काउने कुरा त चलिरहन्छ । यो कुरा अघि एमालेका साथी माधवजीले पनि भन्नुभएको छ, म भन्छु बरु यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

उनले नेपालको राजनीति चुनावअघि र पछि फर्केर हेर्नुपर्ने पनि बताए ।

यसैगरी कार्यक्रममा नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गरे । उनले उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास दिलाए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुने पनि दाबी गरे ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्ने बताए । उनले भने,‘नेपालको राजनीतिमा सबैभन्दा दुःखद् कुरा अवसर र फाईदाको राजनीति धेरै हुँदै गयो । निर्वाचन अघि र पछि समिकरण फेरबदल हुने प्रक्रिया भए । वैचारिक र राजनीतिक रुपमा कसरी अघि बढ्नुपर्छ भन्ने बहस अझै जारी छ । लोकतन्त्रको आन्दोलन समय समयमा धरापमा पर्ने गरेको छ । ००७ सालमा आन्दोलन भयो, ०१७ मा धरापमा पर्यो । नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छ ।’

उनले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको स्मरण गराए

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्थिर बनेर लगाईएको आरोपको खण्डन गरे ।  उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे  । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP