पूर्व माओवादीहरू : मिल्न मन छ, बाटै मिल्दैन – Deurali Khabar

२१ फागुन, काठमाडौं । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्दा पूर्वमाओवादीहरु रोमाञ्चित हुन्छन् । संक्रमणकालीन न्यायको मुद्दामा एक ठाउँमा आउँछन्, किनकी १० वर्षे ‘जनयुद्ध’लाई आपराधिकरण गर्छ कि भन्ने डर छ ।

तर मिल्नुपर्छ भन्दा भन्दै माओवादीहरु शान्ति प्रक्रियामा आएको करिब १७ वर्षमा १७ भन्दा बढी टुक्रा भइसकेका छन् । पछिल्लो पटक देखिने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीहरु अलग भए ।

तर उनीहरु पनि पूर्व माओवादीहरु मिल्नुपर्छ भन्न छाड्दैनन् । आइतबार एउटै मञ्चमा भेला भएका नेताहरुले माओवादी धारबाट आएकाहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।

माओवादी युद्धका शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला लगायतका नेताहरु एउटै मञ्चमा देखिए । मोहन वैद्यले भने पार्टीको बैठकका कारण उपस्थित हुन नसक्ने भन्दै प्रतिनिधि पठाएका थिए ।

संक्रमणकालीन न्यायको मुद्दामा एक ठाउँ

कार्यक्रममा नेताहरुले सशस्त्र विद्रोह (उनीहरुको शब्दमा जनयुद्ध)लाई आपराधीकरण गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् । पछिल्लो पटक सर्वोच्चले प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिनु त्यसको प्रमाण भएको उनीहरुको तर्क थियो ।

सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने प्रचण्डको १ माघ २०७६ को अभिव्यक्तिलाई लिएर फैजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध निवेदन परेपछि संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुविरुद्ध भ्रम छर्ने र घेरा हाल्ने षड्यन्त्र भइरहेको बताए । ‘हामी विभिन्न धारामा भए पनि यिनीहरू एक ठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले भ्रम छर्ने, घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्’, उनले भनेका छन् ।

नेपाल समाजवादी पाटीका अध्यक्ष रहेका डा. भट्टराईले माओवादीहरु विभाजित भएर कमजोर भएकै कारण मुद्दा चलाउने प्रयास भएको टिप्पणी गरे । ‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने कोशिश भइरहेको छ,’ उनले भने, ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’

अर्का नेता विप्लव झन कडारुपमा प्रस्तुत भए । उनले माओवादीलाई अपराधी बनाउने अधिकार लोकतन्त्रमा कसैलाई नभएको भन्दै त्यस्तो गर्नेलाई ठेगान लगाउने चेतावनी दिए । ‘प्रचण्डजी के गर्नुहुन्छ, उहाँको कुरा हो,’ विप्लवको आक्रोश पोखे, ‘तर माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगाउन लगाउने तागत हामीसँग छ । हामी ठेगान लगाइदिन्छौं ।’

तर निरन्तर विभाजन

१ फागुन २०५२ मा सुरु भएको सशस्त्र विद्रोह अन्त्य गर्दै १२ बुँदे समझेदारी र बृहत शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा २२० (प्रत्यक्षतर्फ १२० सिटसहित) जित्दै पहिलो शक्ति बनेको माओवादी त्यसयता निरन्तर ओरालो लागेको छ ।

२०६९ सालमा मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द लगायतका नेताहरु तत्कालीन एकीकृत नेकपा माओवादीबाट बाहिरिएका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो दल बन्यो । २०७२ मा संविधान जारी भएपछि भट्टराईले माओवादी छाडे । त्यसयता बैद्यले नेतृत्व गरेको पार्टी फुट्यो, बैद्यबाट अलग भएर विप्लवले बनाएको पार्टी पनि फुट्यो । शान्ति प्रक्रियामा आएको १७ वर्षमा स–सानो समूहमा माओवादीहरु कति टुटफुट भए कुनै लेखाजोखा छैन ।

निरन्तरको विभाजनमा ‘रमाएका’ माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दाको विषय आउनासाथ आफ्नो बचाउमा एकै ठाउँमा उभिन्छन् र फेरि एक हुनुपर्नेमा जोड दिन्छन् ।

‘हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ’, माओवादी आन्दोलन एउटा ठूलो प्रवाहका रुपमा आएको र शान्ति प्रक्रियापछि विभिन्न भंगलातिर विभाजित भएको भन्दै प्रचण्डले भने, ‘अब फेरि ती भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’

नेसपाका अध्यक्ष भट्टराईले त एक हुने विकल्प नै सुझाए । ‘विचार मिल्नेहरु एकै ठाउँमा आएर एउटै पार्टी बनाउ, विचारमा अलि फरक हुनेहरुको बीचमा मोर्चाबन्दी गरौं’, आफूले त मन बनाएर नजिकको साथीलाई समेत भनिसकेको भन्दै भट्टराईले भने, ‘त्यो पनि नहुने हो भने अहिले कार्यगत एकता गरौं ।’

विप्लव, धर्मेन्द्र बस्तोला लगायतका नेताहरुले पनि पूर्व माओवादीको एकतामा जोड दिए ।

तर उनीहरुले बाटो नै यस्तो रोजेका छन्, जसको मिलन तत्काल सम्भव देखिएको छैन । प्रचण्ड–बाबुराम अहिलेको चुनावी प्रतिस्पर्धाबाटै अगाडि बढ्न चाहन्छन् । दुबैले नेतृत्व गरेको दलका नेताहरुलेबीच पार्टी एकता गरेर माओवादी नाम छाड्ने, चुनाव चिन्ह नै परिर्वतन गर्नेसम्म छलफल चलिरहेको छ ।

मोहन बैद्य, विप्लव, धर्मेन्द्र बास्तोहरु भने प्रचण्ड–बाबुरामले हिँडेको बाटो नै हिड्न तयार छैनन् । माओवादी आन्दोलनकै तथ्यमा तोडमोड गरेको आरोप भट्टराईमाथि लगाएका बास्तोलाले ‘अपुरो क्रान्ति’का लागि मात्रै एकता हुने विचार राखे । ‘अहिले हामी सबै माओवादीहरु एक ठाउँमा हुन जरुरी छ, तर अगाडि जानको निम्ति,’ बास्तोलाले भने, ‘नेपालमा अधुरो रहेको सहिदको सपना पूरा गर्नको निम्ति । सहिदका सपना पूरा गर्ने भनेको नयाँ जनवादी क्रान्ति पूरा गर्ने । वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने कुरा हो ।’

विप्लवले पनि वैज्ञानिक समाजवादमा जानका लागि मात्र माओवादीहरुको एकता हुनुपर्ने बताए । ‘सबै माओवादीलाई एकै ठाउँमा ल्याउने हो, ल्याउनै पर्छ,’ आइतबारको कार्यक्रममा विप्लवले भने, ‘तर नयाँ विचारमा, नयाँ दृष्टिकोणमा ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP