
काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो ।
ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न निवेदन दिएको बताए । फिल्मका क्लिप्सहरु एकाएक टिकटक र युट्युबमा बाहिरिंदा व्यवसायलाई नै चुनौती भएकाले आफूहरुले साइबर ब्युरो गुहारेको उनको भनाइ छ ।



निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि टिकटकमा भिडियो पोस्ट रोक्नका लागि आफूहरुले चलचित्र संघसँग छलफल गर्ने बताए । ‘यसरी फिल्म लिक हुँदा हामीलाई मात्र होइन हलको व्यवसायमा समेत असर पर्छ,’ गिरीले अनलाइनखबरसँग भने । यसैबीच, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले टिकटकमा फिल्म पाइरेसी हुने विषयलाई आफूहरुले चलचित्र संघसँगको वार्तामा एजेण्डाको रुपमा प्रस्तुत गर्ने बताएका छन् ।
बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ ।