फागुन – २२ पोखरा
पोखरा भजन चुट्का संरक्षण प्रतिष्ठानको आयोजनामा कृष्ण लिला बालन नाच संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २७ गते ‘कृष्णप्रसाद गौतम एकल साँझ २०७९’ गर्न लागिएको कार्यक्रमका संयोजक रुद्रप्रसाद अर्यालले बताए । उक्त दिन गायक कृष्णप्रसाद गौतमको एकल प्रस्तुति रहनेछ ।देवीदेवताको गुणगानमा केन्द्रित भएर गाइने बालन नाचको परम्परा धेरै पूरानो हो ।
खासगरी ब्राहृमण–क्षेत्री समाजमा बालन गायन र त्यसको लयसँगै नाच्ने परम्परा छ । पश्चिमी संस्कृतिको प्रभावसँगै यति बेला बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको बेला पोखरामा ‘बालन नाचको एकल साँझ’ हुने भएको छ ।
२७ गते दिउँसो साढे १ बजे कार्यक्रम सुरु हुने संयोजक अर्यालले बताए । गायक गौतमको ०६६ सालमा पहिलो गीति एल्वम प्रकाशन भएको थियो । पापी संसारबाट सुरु भएको उनको गायन यात्रा, पाँच वटा उपन्यास, ४६ वटा भजन, ५८ वटा गीत गरी कुल एक सय ४ वटा गीत बजारमा सार्वजनिक भएका छन् । गायक गौतमका अनुसार १३ वटा गीत बजारमा आउने क्रममा छन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा गरिने बालन नाचको गौतमको प्रस्तुतिमा १५ वटा गीत प्रस्तुत हुने कार्यक्रम संयोजक अर्याल बताउँछन् । ‘१० वटा फरक खालका भजन हुन्छन् । ५ वटा सालैजो, राइला, रत्यौली र लोक गीत प्रस्तुत हुन्छन्,’ संयोजक अर्यालले भने । एकल प्रस्तुतिमा गौतमको साथमा स्वर सम्राट राजु परियार, शिला आलेको पनि प्रस्तुति हुनेछ ।
कार्यक्रममा सहभागी हुन ३ सय ५ सय र १ हजार रुपैयाँको टिकट विक्री खुल्ला भएको छ । उक्ता कार्यक्रम गर्न ४ लाख खर्च हुने र ९ लाख आम्दानी गर्ने आयोजकको लक्ष्य छ । बालन चाचको लागि आवश्यक कपडा, मुकुट, बाध्यबाधन लगायतको लागि खर्च गरिने उल्लेख छ ।