फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा – Deurali Khabar

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु फिल्मको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेकी छन् । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उनले बताइन् । व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको उनको भनाइ छ ।

नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले फिल्मको गुणस्तर वृद्धिमा जोड दिएकी हुन् । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो । चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ,’ उनले भनिन् ।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग फिल्ममा प्रस्तुत गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके फिल्मको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् । फिल्म क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले फिल्म क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘चलचित्र क्षेत्रको विकासको लागि हामीले के कस्तो भूमिका निर्वाह गरिरहेका छौं भन्ने समीक्षा गर्न आवश्यक छ । नीतिगत रूपमा कहाँ–कहाँ समस्या रहेका छन् र सरकारले कहाँ–कहाँ सहयोग गर्नुपर्ने हो त्यो विषय चर्चा र समीक्षा गरौंला ।’ सरकारको नीति कार्यक्रममा तथा नयाँ बजेटमा केही नयाँ काम गर्न सक्नुपर्ने उनको भनाइ छ । फिल्म क्षेत्रमा महिला टिक्न सहज नभएको टिप्पणी गर्दै उनले त्यसको प्रवर्द्धन पनि जोड दिने बताएकी छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस क्षेत्रको काम आफूलेभन्दा छिटो कसैले गर्न सक्छ भने आफू राजीनामा दिन तयार रहेको बताए । नियम बनाएर मन्त्रालयमा पठाएपनि फाइल अगाडि बढ्न नसकेका कारण आफूले फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको केसीको भनाइ थियो । यसकोे पहलका लागि साथ दिन फिल्म सम्बद्ध सबै संघसंस्थालाई उनले आग्रह समेत गरे ।

कार्यक्रममा फिल्म निर्माता अशोक शर्मा, बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले फिल्म क्षेत्रको समस्याको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधिक संघ, नृत्यकार संघका नवनिर्वाचित कार्यसमितिलाई निर्माता संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो । संघका अध्यक्ष नवल खड्काले सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताए । यस्ता कार्यक्रमले संघसंस्थालाई एक ढिक्का भएर अगाडि बढ्न मद्दत मिल्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP