सोमबार , माघ ७, २०८१
बजेटमाथिको छलफल सकियो, आज अर्थमन्त्रीले जवाफ दिने – Deurali Khabar

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।
सभामुख देवराज घिमिरेले छलफल नसकिएको भन्दै हिजो अर्थमन्त्रीले जवाफ दिने कार्य भएपनि त्यसलाई आजका लागि सारिएको बताउँदै दिउँसो १ बजे बस्ने बैठकमा जवाफ दिने बताए।

जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो। करिब एक हप्तासम्म भएको छलफलमा भाग लिने अधिकांशले यसको विरोध गरेका छन्। विरोध गर्नेमा सत्तारुढ सांसद छन्। केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन्।

कतिपय सांसदहरुले एउटै बिषय नीति तथा कार्यक्रममा एक किसिमले आएको र बजेटमा अर्कै किसिमले आएको बताएका छन्। सांसदहरुले सबै निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक प्रणालीबाट बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएका छन्। पहुँचवाला नेता र मन्त्री भएको क्षेत्रमा विकास बजेट बढी छुट्याएको आरोप केही सांसदहरुको छ। त्यस्तै प्रतिपक्षी दलका सांसदहरुले बजेटले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, राजश्व संकलन लक्ष्य अविश्वसनिय रहेको बताएका छन्। केही सांसदहरुले बजेट कार्यान्वयनमा देखिएका चुनौतीको सामना गरेर अघि बढ्न सुझाब दिएका छन्।

गुणस्तरीय शिक्षा, सहरमा ठूला विद्यालय स्थापना, सहरी व्यवस्थापन, समावेशी सहभागीता र पछाडी पारिएका जनसमुदायको उत्थानमा बजेटलाइ लगाउनुपर्ने बताएका छन्।त्यस्तै सांसदहरुले कर प्रणालीलाइ सही तरिकाले लागु गर्न र विनियोजित कार्यक्रम निर्वाचन क्षेत्रका आधारमा सन्तुलिन गराउन समेत सुझाब दिएका छन्। ​

वर्षेनी आउने कर हेरफेरको विवादलाइ दीर्घकालिन रुपमा अन्त्य गर्नका लागि बोर्ड बनाउन समेत सांसदहरुले सुझाब दिएका छन्। सरकारले आगामी वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैँयाको बजेट सार्वजनिक गरेको छ।

सरकारले चालु खर्चमा ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५ दशमलब २० प्रतिशत र पुजीगत ३ खर्ब २ अर्व ७ करोड १७ दशमलब २५ प्रतिशत रकम विनियोजन गरेको छ । सार्वजनिक गरिएको बजेटमाथि उठेको प्रश्न बारे आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जबाफ दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP