काठमाडौं : राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक शनिबार पोखरामा बस्दैछ। संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा समन्वय गर्ने अधिकारसम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक आज पोखरामा बस्न लागेको हो।
शुक्रबार मुख्यमन्त्रीसँगको भेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकारबीच समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा आइसकेको र सोही ऐनबमोजिम पहिलो बैठक बस्न लागेको बताएका थिए।
बैठकका लागि प्रधानमन्त्री प्रचण्ड शुक्रबारदेखि नै पोखरामै रहेको परिषद्का सदस्यसमेत रहेका नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले जानकारी दिए। बिहान ८ बजे नै बैठक बस्ने भनिए पनि प्रधानमन्त्री अन्य कार्यक्रममा सहभागी भएकाले ढिला गरी बैठक बस्ने उनले बताए।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री सदस्य रहने व्यवस्था छ। २०७७ देखि परिषद् कार्यान्वयनमा आए पनि अहिलेसम्म बैठक बस्न सकेको थिएन।