
पोखरा : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा केही समस्या देखिएको भए पनि अहिले सुधारको संकेत देखिन थालेको बताएका छन्। शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रियामा मन्त्री डा. महतले वैदेशिक मुद्रा सञ्चिती हुँदा अर्थतन्त्र चलाएमान भएको बताए।
‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उनले भने, ‘यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएका छन् । वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ । पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ ।’



हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको उनले बताए। डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
नेपालमा पूँजीगत खर्च नहुने ठूलो समस्या आजको वास्तविकता रहेको बताउँदै उनले भने, ‘अब यो बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्छ । बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं। यसैका आधारमा हामीले पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको थियो ।’
बढी सुविधा लिइरहेका र करको दायरामा नआएकालाई करको दायरामा ल्याउने काम आफूहरुल गरेको उनले बताए। उनले राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न आफूमीलाई सहज हुने उल्लेख गरे।
‘वैदेशिक सहयोगको सदुपयोग भइरहेको थिएन, खर्च भइरहेको थिएन । अब समय तालिकाका आधारमा खर्च गर्ने प्रवन्ध सुनिश्चित गरिसकेपछि वैदेशिक सहयोग थप माग गर्न सहज हुनेछ । सहयोग दिएको छ, खर्च भएको छैन, अर्को माग्नुको कुनै अर्थ हुँदैन’ मन्त्री डा. महतले भने, ‘खर्च प्रकृयालाई सहज बनाउने र अनुशासन कायम गर्ने काममा म लागेको छु । कुनै दायाँबायाँ, पक्ष, विपक्ष र घरना नहेरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन आवश्यक छ । जनता र देशलाई केन्द्रमा राखेर मैले बजेट प्रस्ताव गरेको छु ।’
आफ्नो निर्वाचन क्षेत्रमा बजेट थोरै आयो भन्ने गुनासा गर्ने संसदहरुको गुनासो रहेको बताउँदै उनले भने, ‘ हाम्रो पूँजीगत खर्च कम भयो । विकास निर्माणमा जनताको स्वभाविक आकांक्षालाई माननीयज्यूहरुले संसदमा बोल्नु भएको हो।’
तयारी वस्तु बाहिरबाट मगाउनेलाई भन्दा यही कच्चा पदार्थ ल्याएर उद्योग विस्तार गर्नेलाई बढी संरक्षण दिएको उनले जनाए।
‘ यो बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको छ । बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्ने प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ । हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेका छौं’, मन्त्री डा. महतले बताए।