आइतबार , चैत्र २, २०८१
भ्रमणका वेला प्रचण्ड भारतीय गुप्तचरकै घरमा पुगे : ओली – Deurali Khabar

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका वेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे।

उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए। उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका वेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको बताए। उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको बताए।

ओलीले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ। भारतबाट ‘रअ’का प्रमुख नेपाल आए, मसँग भेट्छु भने। मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ। योपटक प्रचण्ड दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो। मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएँ। जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही गरिनँ। उहाँले देशको हीको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्विकार्न सक्नुहुन्न उहाँ।’

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नरहेको जिकिर गरे। उनले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसद्‌बाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथिथ ठट्टा गरिएको बताए।

उनले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताए। नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताए।

उनले सत्तापक्षले घमण्ड देखाएर संसद्‌मा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनै पनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गरे।

उनले भने, ‘भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु भनेको छैन तर नेपालका प्रधानमन्त्री भनिरहेका छन्, नेपालको सार्वभौम सत्ता नेपालको संसद्‌मा छैन, नेपाली जनतामा छैन, नेपालका सांसद, संसद्ले सरकार बनाउने होइन, दिल्ली दौडिएर सरकार बन्छ। राष्ट्रियता र सार्वभौम सत्तामाथि मजाक उडाइएको छ। यो मामुली कुरा होइन, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ।’

अध्यक्ष ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको बताए। उनले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाए।

अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP