भरतपुर अस्पतालमा बिरामीको भीड, निजी अस्पताल सुनसान – Deurali Khabar

८  साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप बढ्दा निजी अस्पताल भने सुनसान देखिएका छन् ।

भरतपुर सरकारी अस्पताल हो । उपचारका लागि यहाँ आउनेहरुको बिहानैदेखि भिड लाग्छ । अत्यधिक बिरामी तर सीमित जनशक्ति हुँदा आकस्मिक बाहेकका अप्रेशन गर्नुपर्ने कतिपय बिरामीलाई महिनौंसम्म पालो कुर्नुपर्ने बाध्यता छ ।

 

भरतपुर अस्पतालको सर्जरी विभागका चिकित्सक डा.दीपेन्द्र न्यौपानेका अनुसार सर्जरी ओपीडीमा दैनिक औसत २ सय बिरामीहरु उपचारका लागि आउने गर्दछन् । तीमध्ये करिब ५० जना किरामीको सानो-ठूलो अप्रेशन गर्नुपर्ने हुन्छ ।

आकस्मिक बाहेक अन्य बिरामीले अप्रेशनको पालो (डेट) पाउँछन् २०८० चैत मसान्तसम्मको ।

डा. न्यौपानेका अनुसार बढ्दो विरामीको संख्या र कम जनशक्तिले गर्दा आकस्मिक बाहेकका अप्रेशन गर्नुपर्ने बिरामीहरुले लामो समय कुर्नुपर्ने भएको हो । भरतपुर अस्पतालको सर्जरी विभागमा जम्मा ८ जना मात्रै चिकित्सक छन् ।

अस्पतालले सर्जरी विभागलाई अप्रेशनको पालो सातामा ३ दिन मात्रै दिएको छ । डा. न्यौपाने भन्छन्, ‘ओपीडी बस्ने की, अप्रेशनमा जाने की, वार्डमा राउण्ड जाने की, रेजिडेन्ट चिकित्सकलाई पढाउने की ८ जना चिकित्सकले के-के गर्ने ?’

बिरामीको बढ्दो तथ्यांक

भरतपुर अस्पतालमा विगतमा भन्दा अहिले बिरामीको भिड निकै बढेको तथ्यांक छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ओपीडीबाट ३ लाख ३० हजार १०९ जना बिरामीले सेवा लिएका थिए । सोही आर्थिक वर्षमा आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीहरुको संख्या ५४ हजार ५५२ छ ।

ओपीडीमा आएका ३ लाख ३० हजार १०९ जनामध्ये २ लाख २२ हजार स्वास्थ्य बीमा गरेका बिरामी हुन् भने १ लाख ७ हजार ६५१ जना साधारण टिकट काटेर सेवा लिएका बिरामी हुन् । आकस्मिक कक्षबाट सेवा लिने ५४ हजार ५५२ मध्ये २४ हजार २५० बीमा गरेका बिरामी हुन् ।

योभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ओपीडीबाट २ लाख ५२ हजार ८९४ जनाले र आकस्मिक कक्षबाट २७ हजार ६१७ जना बिरामीले सेवा लिएका थिए । यी दुई आर्थिक वर्षको तथ्यांक हेर्दा आकस्मिक कक्षमा झण्डै दोब्बर बढी बिरामी आएका छन् ।

ओपीडीमा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा मात्रै ७७ हजार २१५ जना बिरामी थपिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा १ लाख ४९ हजार बिरामी आएकामा गत आर्थिक वर्ष त्यसको दोब्बर बढी बिरामीले अस्पतालबाट सेवा लिएका छन् ।

अस्पतालले नयाँ सुविधा सम्पन्न आकस्मिक कक्ष भवन बनाएपछि बिरामीको संख्या हृवात्तै बढेको छ । पहिला ठाउँ अभावमा धेरैजसो बिरामी बाहिरका अस्पतालमा रिफर गर्ने गरिएकोमा अहिले भने सो अवस्था छैन ।

निजी अस्पताललाई खर्च धान्नै मुस्किल

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दा त्यस वरपरका मेडिकल कलेज र निजी अस्पतालहरुमा भने बिरामीको संख्या आधा बढीले घटेको पाइएको छ । विगतमा बिहान र साँझपख भिडभाड हुने अस्पताल रोडका निजी अस्पतालहरुमा हिजोआज खासै बिरामी देखिँदैनन् ।

अस्पताल रोडमा नै रहेको नारायणी सामुदायिक अस्पतालमा कोभिड अगाडिको समयमा भन्दा अहिले ५० प्रतिशत बिरामी घटेका अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर बताउँछन् ।

कुँवरका अनुसार पहिला प्रतिदिन १५० भन्दा बढी बिरामी एक दिनमा ओपीडीमा आउने गरेकोमा अहिले दैनिक ८० जनाको हाराहारीमा मात्रै आएका छन् । ‘सरकारी अस्पतालहरुमा बीमाको सुविधा, आर्थिक मन्दीले क्रयशक्ति घटाउँदा मानिसहरुले रोग पालेरै बस्न थालेकी भन्ने पनि हो,’ निर्देशक कुँवर अनुमान लगाउँछन्, ‘कोभिडको खोप लगाएपछि पनि धेरै मानिसहरुलाई साधारण रुघाखोकी र मौसमी फ्लू लाग्न कम हुन थालेको हो की जस्तो पनि देखिन्छ ।’ उनले अहिलेको अवस्थाले निजी अस्पतालहरुले खर्च धान्नसमेत मुस्किल पर्न थालेको बताए ।

निजी अस्पताल समन्वय समितिका उपाध्यक्ष ओमप्रकाश दवाडीले गाउँगाउँमा सुविधा सम्पन्न क्लिनिक तथा पोलिक्निक खोल्न थालिएको र सरकारी स्वास्थ्य संस्थाहरुको पनि क्षमता वृद्धि भएकाले निजी अस्पतालमा आउने बिरामीको संख्या घटेको बताए । सरकारी अस्पतालमा बीमा गरेका ब्यक्तिहरुले निःशुल्क उपचार पाउने भएपछि निजीमा नआउनु स्वभाविक भएको उनको धारणा छ ।

ओम अस्पतालका सञ्चालकसमेत रहेका दवाडीले आफ्नो अस्पतालमा ४० प्रतिशत बिरामीको संख्या घटेको बताए । ओम अस्पतालमा पहिला दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेकोमा अहिले औसत दैनिक ५५/६० जना मात्रै ओपीडीमा उपचारका लागि आउने गरेको उनले बताए । अहिलेको अवस्थाले कर्मचारीको खर्च, मेन्टेनेन्स, उपकरण खरिद तथा सेवा विस्तार गर्न निकै समस्या हुँदै गएको दवाडीले बताए ।

बिरामी अभाव तथा आन्तरिक व्यवस्थापनमा समस्या हुँदा भरतपुरको शान्ति अस्पताल प्रा.लि. दुई महिना अगाडि नै बन्द भएको छ ।

भरतपुरकै सेन्ट्रल अस्पतालमा समस्या भएपछि अर्को टिम भित्र्याइएको छ । भरतपुरको कलेज अफ मेडिकल साइन्सेसले बीमा सेवा जारी राखेको कारण भरतपुर अस्पतालमा सेवा उपलब्ध हुन नसक्ने बिरामीहरु रेफर भएर त्यहाँ जाने गरेका छन् ।

अर्को चितवन मेडिकल कलेजले गत वर्षदेखि नै बीमाको कार्यक्रम हटाउँदा बिरामीको संख्यामा कमी आएको छ । निजी अस्पतालमा बिरामीहरुको चाप घटेपछि पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न मेडिकल कलेजहरुले लबिइङ्ग गरिरहेका छन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने नीति लिएको उल्लेख छ । तर मेडिकल कलेज सञ्चालकहरुको एशोसिएसनले भने स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि आफूहरुलाई पनि सहमति दिन माग गरेको छ ।

स्वास्थ बीमा बोर्डबाट भरतपुर अस्पताललाई साढे ५२ करोड भुक्तानी

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत आर्थिक वर्षमा ५२ करोड ५० लाख ७२ हजार रकम भुक्तानी पाएको छ । बीमा दावी र भुक्तानीका हिसाबले भरतपुर अस्पताल देशकै अग्रपंक्तिमा आउने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।

उनले भरतपुर अस्पतालले गर्ने बीमा भुक्तानी दावी र बोर्डको भुक्तानी अन्य अस्पतालका लागिसमेत अनुकरणीय भएको बताए । भरतपुर अस्पताल सबैभन्दा बढी बीमा दाबी गरेर भुक्तानी लिने स्वास्थ्य संस्थामा पर्दछ ।

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ ।

अस्पतालले गत ४० करोड भुक्तानी पाउने लक्ष्य राखेको भए पनि सोभन्दा १२ करोड रकम बढी भुक्तानी लिएको छ ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार सेवाग्राहीले २ लाख ६ हजार ८८५ पटक सेवा लिए वापत सो रकम भुक्तानी लिएको हो । गत आर्थिक वर्षको अझै १० करोड दाबी गरिएको र सो रकम आउन बाँकी रहेको पौडेलले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड ७९ लाख भुक्तानी पाएको थियो । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामीले स्वास्थ्य बीमाबाट सेवा लिने गरेका छन् भने बाँकी २९ प्रतिशतले मात्रै शुल्क तिरेर सेवा लिएका छन् ।

अस्पतालमा ८ हजार ३९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै, स्वास्थ्य बीमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् ।

भरतपुर अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासी लगायतका जिल्लाबाट समेत बीमाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

भरतपुर अस्पतालमा उपलब्ध नहुने सेवाका लागि मात्रै निजी मेडिकल कलेजमा पठाउने गरिएको बीमा कार्यक्रम संयोजक पौडेलले बताए । एमआरआई लगायतका सेवा हाल अस्पतालमा नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

अस्पतालले चाँडै नै एमआरआई मेसिन ल्याएर जडान गरेपछि बाहिर जानुपर्ने बाध्यतासमेत हट्ने र अस्पताल आउने बिरामीले सेवासँगै बीमा भुक्तानीको दावीसमेत बढ्ने संयोजक पौडेलको भनाइ छ ।

वि.सं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ । चितवन जिल्लाको ६ लाख बढी जनसंख्या मध्ये ४ लाख ५५ हजार ११७ जनाले बीमा गरेको स्वास्थ्य बीमाका जिल्ला संयोजक तोयनाथ दवाडीले जानकारी दिए । हरेक वर्ष ६० देखि ७० प्रतिशतले निरन्तर बीमाको नवीकरण गर्दै आएका छन् ।

३५ सय रकम तिरेपछि ५ जनाको परिवारका सदस्यहरुको १ लाखसम्मको बीमा गर्न सकिने व्यवस्था सरकारले गरेको छ ।

भरतपुर अस्पतालका बीमा संयोजक लिलाधर पौडेलले सरकारले बीमाको स्कीममा विभिन्न अफरहरू ल्याउन सके अझैं बीमा प्रतिको आकर्षण बढ्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP