कास्कीमा सालीको छोरीलाई बाबुआमा बनेर दिलाइएको नागरिकता रद्द – Deurali Khabar

१३ साउन, पोखरा । पोखरा-२१ कृस्तिमा आफन्तको छोरीलाई नक्कली बाबुआमा बनेर दिलाइएको नागरिकता जिल्ला प्रशासन कार्यालय कास्कीले रद्ध गरेको छ ।

जनप्रतिनिधिदेखि परिवारसम्मले जालसाँजीपूर्वक दिलाएको भन्दै जिल्ला प्रशासनले रश्मी रानाभाटको नाममा दर्ता भएको नागरिकता रद्द गरेको हो ।

पोखरा-२१ का ज्ञानबहादुर रानाभाट र श्रीमती ताराको छोरी भएको विवरण पेश गरेर जनप्रतिनिधिको सिफारिसमा गत पुस २१ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता जारी भएको थियो ।

यो परिवारमा छोरी नै नजन्मिएको तर छोरीको नाममा नागरिकता जारी भएको घटना बाहिर सार्वजनिक भएपछि प्रशासनले अनुसन्धान थालेको हो ।

प्रारम्भिक अनुसन्धानमै छोरी होइन भन्ने देखिएकाकले र परिवारले पनि स्वीकारेकाले नागरिकता रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

पोखरा-२१ कृस्तिका ज्ञानबहादुर र श्रीमती ताराले आफ्नो छोरी दावी गर्दै सालीको छोरी रश्मी रानाभाटको नाममा नागरिकता दिलाएका हुन् ।

उनीहरुले ज्ञानबहादुरकी श्रीमती ताराकी बहिनीको छोरी भारतमा अनाथ भएपछि ६ कक्षा पढ्दादेखि नै ल्याएर हुर्काएको र उनलाई बचाउनकै लागि नागरिकता दिलाएको स्वीकारेका छन् ।

नागरिकता पाएकी रश्मी अहिले क्यान्सरको चौथो चरणबाट गुज्रिरहेको र उनलाई बचाउनकै लागि सरकारबाट राहत पाइन्छ कि भनेर नागरिकता दिलाएको प्रशासनमा बयान दिएका छन् ।

पोखरा-२१ को वडा सदस्य तथा त्यो बेलाकी कार्यबहाक अध्यक्ष विमला केसी चालिसेको सिफारिसमा रश्मीले गत पुस २१ गते नागरिकता प्राप्त भएको थियो ।

दाबी गरिएको बाबुआमा, रोहबरमा बसेका दाजुको बयान लिएपछि नागरिकता रद्ध गरिएको र थप अनुसनधान जारी रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । अनुसन्धानपछि दोषी ठहर भए कानुन बमोजिम कारबाही हुने घिमिरेको भनाइ छ ।

नागरिकता पाएकी रश्मी क्यान्सरसँग जुधिरहेको, परिवार आर्थिक संकटमा रहेको देखिएको तर कानुनबिपरीत भए कसैले छुट नपाएको घिमिरेले बताए ।

‘नागरिकता रद्ध गरेर अनुसन्धान अगाडि बढाएका छौं । दोषी देखिए कानुनले नै दण्ड सजायँको व्यवस्था गरेको छ,’ सिडिओ घिमिरेले भने ।

उनीहरुले कागजी प्रक्रिया भने सबै पूरा गरेको पाइएको छ । २०७५ साल चैत ७ठ गते अनलाइनमार्फत ज्ञानबहादुर रानाभाट बुबा र तारा रानाभाट आमा भएको उल्लेख गर्दै रश्मीको जन्मदर्ता भएको थियो ।

प्रवेशिका पास गरेकी रश्मीको शैक्षिक प्रमाणपत्रमा पनि सोही ब्यहोरा उल्लेख छ । उनीहरुका अनुसार अहिले नागरिक प्राप्त गर्ने रश्मीको बाबुआमा दुबै बितिसकेका छन् ।

पारिवारिक अवस्था पनि विपन्न रहेका, नागरिकता लिने रश्मी पनि क्यान्सर पीडित रहेको एकातिरको पाटो भए पनि नक्कली बाबुआमा बनेर नागरिकता दिलाउनुलाई नेपालको कानुनले अपराध नै ठान्छ ।

कीर्ते नागरिकताका लागि सिफारिस गर्ने जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालयका अधिकारीसम्मलाई यो विषयले अहिले तनाव सिर्जना गराएको छ ।

वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीले सबै प्रक्रिया र कागजात पूरा गरेर आएकाले शंका गर्ने आधारै नभेटेको बताए ।

डिएनए गरेर नागरिकता सिफारिस गर्न नसकिने उनको जवाफ थियो । तर, आफ्नै गाउँठाउँमा घटनाबारे जनप्रतिनिधिलाई थाहा हुने र यसबारे लुकाउन खोजेको आरोप छिमेकीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP