मंगलबार , फागुण ६, २०८१
एसियाली खेलकुद : महिला भलिबललाई सबैभन्दा ठूलो ‘एक्सपोजर’ – Deurali Khabar

१५ साउन, काठमाडौं । पहिलोपल्ट एसियाली खेलकुद खेल्न पाएको नेपाली महिला भलिबल टिम तयारीमा व्यस्त छ । एसियाली खेलकुद नेपाली महिला भलिबल खेलाडीको लागि सबैभन्दा ठूलो अवसर हो ।

त्यसैले खेलाडीहरु यो अवसर खेर नफाली प्रतियोगितामा राम्रो गर्ने लक्ष्यसहित अभ्यासमा छन् । ‘हाम्रो लागि यो चुनौती त हो नै चुनौतीभन्दा पनि हामीले यसलाई अवसरका रुपमा लिएका छौं’, कप्तान अरुणा शाही भन्छिन्, ‘हाम्रो लागि यो इतिहास हो । धेरै बलिया टिमसँग खेल्दा हामीले सिक्ने मौका पाउनेछौं ।’

एसियाली खेलकुदमा एसियाका बलिया टिम पनि सहभागी हुनेछन् । बलिया टिमसँग खेल्दा राम्रो एक्सपोजर पाउने र यसले अरु अवसरको ढोका खुल्ने संभावनालाई खेलाडीले बुझेका छन् ।

‘हाम्रो लागि यो एकदमै खास प्रतियोगिता हो,’ कप्तान अरुणाले भनिन्, ‘हामीले यस प्रतियोगितामा राम्रो गरेको खण्डमा विदेशी लिग खेल्न पाउने अवसर मिल्न सक्छ ।’

दुई स्पाइकर प्रतिभा माली र उषा भण्डारीले विदेशी लिग खेलिरहेका छन् । एसियन गेम्सपछि अन्य खेलाडीका लागि पनि विदेशी लिगको ढोका खुल्न सक्ने छ । ‘अरुले पनि नेपाललाई चिन्ने मौका हुनेछ । अन्य खेलाडीलाई पनि विदेशी लिगको अफर आउन सक्छ । यो निकै फरक अनुभव हुनेछ’, कप्तान अरुणाले भनिन् ।

कप्तान अरुणा शाही

नेपाली टिमले घरेलु मैदानमा काभा वुमन्स च्यालेन्ज कप खेल्यो । त्यसबाट १/२ हप्तामात्र आराम पाएका खेलाडीले पुनः सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता खेले । असार ३० गते प्रतियोगिता सकेका खेलाडीको २ साउनदेखि एसियनका लागि प्रशिक्षण सुरु भयो ।

लगातारको प्रतियोगिता र त्यसलगत्तै सुरु भएको बन्द प्रशिक्षणमा रहेका खेलाडीमा फिटनेसको कुनै समस्या छैन । ‘हामी लगातार खेलबाट आएकाले लो इन्टेन्सिटीको ट्रेनिङबाट सुरु गरेका छौं । अब बढाउँदै लैजाने हो’, अरुणाले भनिन् ।

नेपालको १२ सदस्यीय टिममा काभा वुमन्स च्यालेन्ज कप खेलेका ४ खेलाडी छैनन् । स्पाइकमा प्रतिभा माली र सेटरमा त्रिभुवन आर्मी क्लबकी जानकी भण्डारीले मौका पाएका छन् । ‘हामी अहिले १२ खेलाडीसँग तयारी गरिरहेका छौं । प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा १४ जना खेलाडी हुन्छन् तर एसियन गेम्समा १२ जनाको कोटा रहेछ’, प्रशिक्षक जान डी ब्रान्टले भने ।

भारतसँग अभ्यास खेल

नेपालले एसियन गेम्स खेल्न चीन जानुअघि मध्य अगस्टमा काठमाडौंमा नै भारतसँग अभ्यास खेल खेल्ने तयारी छ । ‘भारत नेपालको राम्रो प्रतिस्पर्धी हो । उनीहरुविरुद्ध हामी सेट जित्ने प्रयास गर्नेछौं,’ ब्रान्टले भने, ‘हामीले माल्दिभ्स, बंगलादेशसँग अभ्यास खेलेर एसियन गेम्सका लागि तयारी हुँदैन । हाम्रो स्तरको वा हामीभन्दा बलियो टिमसँग अभ्यास खेल्नुपर्छ ।’

भारतीय खेलाडी नेपालका खेलाडीभन्दा शारीरिक रुपमा बलियो भएका कारण उनीहरुसँगको खेलले एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीको सामना गर्न सहयोग मिल्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP