सुराकी दिनेले कमिसन पाउने नीतिले सुन समातियो : अर्थमन्त्री – Deurali Khabar

वीरगन्ज : अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् ।

शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारका तर्फबाट सम्भाव्यता अध्ययन  भइरहेको छ ,यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ । ‘

चिनी कारखाना चलाउँछौं भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्ने पनि उनले प्रष्ट पारे । अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन पनि गरेका थिए ।

सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरि २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी काराखाना घाटामा गएपछि सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो ।

अर्थमन्त्री महतले वीरगन्जस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरी पुर्नसञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए ।

केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफूले पाएका मेडलहरू लिलामीमा राखेको पोष्ट सामाजिक सञ्जालमा राखेका छन् ।

त्यहि प्रसंगबारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘सरकारसँगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैयाँ दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ , बाँकी रकम आवश्यकता अनुसार व्यवस्थापन गरिनेछ । ‘

दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरी १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएको छ । फरक प्रसंगमा अर्थमन्त्री महतले एक सय किलो सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे ।

सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप निराधार भएको उनले बताए ।  महतले भने,‘अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइदिने ,सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ ।’

आफ्नै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबी समेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफूले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर महतको थियो ।

वर्तमान सरकारले सुशासन ,पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्या विस्तारै कम हुँदै गएको ,वैदेशिक मुद्राको सञ्चितीमा सुधार आएको ,मुल्यवृद्धि क्रमिक रुपमा घट्दै गएको,पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुँदै गएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP