मंगलबार , माघ २९, २०८१
विपद्को भयले त्रसित कर्णाली, फितलो पूर्वतयारी – Deurali Khabar

२३ साउन, सुर्खेत । कमजोर भू-बनोट, छरिएर रहेका बस्तीहरू । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास । जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली ।

कर्णालीका पहाडी र हिमाली गरी नौ जिल्ला पहिरो र भित्री मधेशको सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने प्रदेश सरकारको अनुमान छ । कर्णालीका बस्तीहरू भौगोलिक रुपमै जोखिममा रहेको र तत्काललाई ती घरधुरी सार्न मिल्ने नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् । ‘हामीले जोखिम नक्सांकन गर्ने योजना बनाएका छौं । तर काम पूरा भएको छैन । नक्सांकन गरेको भए जोखिममा रहेका बस्ती तत्कालका लागि अन्यत्र सार्न मिल्थ्यो’, रोकायाले भने ।

कर्णालीमा यो वर्ष झण्डै ३५ हजार ३३३ जना विपदबाट प्रभावित हुने अनुमान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । प्राधिकरणका अनुसार ८ हजार ८५ घरधुरी बाढी पहिरोको जोखिममा छन् ।

विशेष गरी कर्णालीको कालीकोट विपदबाट धेरै क्षति हुने जिल्लामा पर्दछ । त्यसपछिको जोखिममा दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला रहेका छन् । हुम्ला, मुगु र डोल्पा पनि पहिरोको जोखिम छन् भने सुर्खेत बाढीको जोखिममा छ ।

विगत १० वर्षलाई फर्केर हेर्दा

२०७० देखि २०७९ चैतसम्ममा कर्णालीमा एक हजार ४८० वटा विपद्का घटना हुँदा ५०३ जनाको मृत्यु भएको छ भने २०३ जना बेपत्ता भएका छन् । यस्तै ७३६ जना घाइते भएका छन् ।

२०७७ असार २६ मा जाजरकोटको बारेकोटमा गएको पहिरो।

यस अवधिमा ६ हजार २३२ घरहरु प्रभावित भएको प्रदेश सरकारको तथ्याङ्क छ । पछिल्लो १० वर्षमा सडक दुर्घटना र कोभिड महामारी बाहेक विपदबाट मात्र ११ अर्ब १ करोड १७ लाख ७९ हजार २३८ रुपैयाँको क्षति भएको प्रदेश सरकारको तथ्यांक छ । यो भनेको औसतमा वाषिर्क १ अर्ब १० करोड १२ लाख क्षति भएको छ ।

प्रदेशमा सबैभन्दा ठूलो क्षति बाढी र पहिरोबाट हुने गरेको छ । बाढी र पहिरोपछि आगलागी, चट्याङ, हावाहुरी र महामारीबाट बढी क्षति हुने गरेको छ । पछिल्लो एक दशकमा ५५० वटा मनसुनजन्य विपद्का घटना हुँदा २९४ जनाको मृत्यु भएको प्रदेश सरकारको तथ्याङ्क छ । त्यस्तै १८८ जना वेपत्ता, २३६ जना घाइते भएका छन् भने ६ हजार ३० घरहरु आंशिक र पूर्ण क्षति भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP