
२५ साउन, काठमाडौं । ओस्कार विजेता भारतीय चलचित्रको केन्द्रविन्दुमा रहेका आदिवासी जोडीले निर्माताविरुद्ध कानुनी उपचारको खोजी गरेका छन् ।
वृत्तचित्र विधामा ओस्कारमा उत्कृष्ट अवार्ड हात पारेको ‘एलिफेन्ट विस्परर्स’ को केन्द्रविन्दुमा आदिवासी जोडी बोमन र बेली थिए । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मुदुमुवाली टाइगर रिजर्भमा उनीहरूले हात्तीका घाइते बच्चाको स्याहार गर्थे र टुहुरा हात्तीका बच्चा पाल्थे ।



नेटफ्लिक्समा सार्वजनिक यस फिल्मले ओस्कारमा अवार्ड जित्ने पहिलो भारतीय वृत्तचित्रको इतिहास रच्यो । ओस्कारमा अवार्ड पाएसँगै बोमन र बेलीले पनि निकै ख्याति कमाए । फिल्चमको सफलतासँगै राज्य सरकारले उनीहरुलाई एक लाख भारतीय रुपैयाँ दिएर सम्मान गर्यो ।
गत अप्रिलमा उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेका थिए ।
शिक्षा इन्टरटेनमेन्टकी निर्देशक तथा चलचित्र निर्माता तथा निर्देशक कार्तिकी गोसेल्भ्सले उचित रकम नदिएको भन्दै मुद्दा हालेको हो । उनीहरुले आदिवासी जोडीलाई बुढेसकालमा खर्चका लागि दुई करोड भारतीय रुपैयाँ दिने बताएका थिए । तर त्यस रकम नदिएपछि कानुनी लडाइँ लड्न बाध्य भएको उनीहरुले बताएका छन् ।
फिल्म निर्माताले भने उक्त आरोपको खण्डन गरेकी छिन् । फिल्ममा योगदान गर्ने सबैप्रति आफूहरुको बराबर सम्मान रहेको उनको भनाइ छ । ‘बोमन र बेलीका आरोपमा कुनै पनि सत्यता छैन,’ निर्माता गोनसेल्भसले भनेकी छिन् ।
निलगिरि हिमाल वरपरका दृश्यसँगै छायांकन भएको चलचित्रमा बोमन र बेलीले बथानबाट छुटेको हात्ती रघुको ख्याल गरेको सम्पूर्ण दृश्य कैद गरिएको छ । उनी जोडी कातुनायकन समुदायका हुन् । उनीहरु पुस्तौंदेखि जंगलको संरक्षण गर्ने काममा छन् ।
वन्यजन्तु संरक्षणका प्रयासलाई चलचित्रले उजागर गरेको भन्दै यसले निकै प्रशंसा बटुलेको थियो । निर्माताले दृश्य छायांकनका समयमा विभिन्न प्रलोभन देखाए पनि हाल कुनै पूरा नगरेको आदिवासी जोडीको आरोप छ । निर्माताले आफूहरुलाई वृत्तचित्रमा सामेल भएपबापत घर नै बनाइदिने आश्वासन दिएको उनीहरुले बताएका छन् ।
‘गोनसेल्भसले हामीलाई भेटिन् र कामको प्रस्ताव गरिन् । यसमा सामेल भएपबापत घर र गाडी खरिद गर्ने उनले बताएकी थिइन् । उनले जसो भनिन् हामीले त्यसै गर्यौं । तर उनले हामीलाई ठगिन्,’ बेलीले भनिन् ।
शिक्षा इन्टरटेनमेन्टले व्यावसायिक रुपमा ठूलो आर्जन गरे पनि आफूहरुलाई उचित क्षतिपूर्ति नदिएको भन्दै उचित क्षतिपूर्तिको माग मुद्दामा गरिएको छ ।