
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग विद्युत व्यापार गर्ने तयारीमा रहेको बताएका छन्। सोमबार नेकपा माओवादी पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विद्युत व्यापार भारत बंगलादेशसँग मात्र नभइ यो वर्षदेखि चीनसँग पनि सुरू गर्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले चीनसँग विद्युत व्यापारका लागि रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन लाइन बनाउने तयारी भइरहेको बताए। ‘विद्युत व्यापार भारत बंगलादेशसँग मात्रै नभइ चीनसँग खुला गर्न यो पकटक तयारी हुँदैछ,’उनले भने,’यसका लागि रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन लाइन बनाउँदैछौं। त्यहाँबाट विद्युत व्यापार अगाडि बढाउने तयारी छ।’



प्रधानमन्त्री दाहालले छिट्टै चीन भ्रमणमा जान लागेको बताए। उनले चीन भ्रमणमा कृषिमा सुधारका निम्ति ठूलो परियोजनामा जोड दिने बताए। त्यसको तयारीका लागि दुवै पक्ष सकारात्मक ढंगले अगाडि बढिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले भने,’छिटुटै चीन जाँदैछु। कृषिमा सुधारका निम्ति ठूलो परियोजनामा जोड दिने योजना छ। त्यसको तयारी गर्दैछौं । सकारात्मक ढंगले दुवै पक्षमा तयारी अगाडि बढिरहेको छ।’
उनले नेपालको रणनीतिक आर्थिक क्षेत्रमा गुणात्मक विकासका लागि चीन भ्रमणमा जान लागेको बताए। उनले चीनसँग औद्योगिक पार्कलगायतका ठूला परियोजनामा सम्झौता हुने विश्वास व्यक्त गरे।
यसअघि इटाली भ्रमणमा पनि नेपालको खाद्य र कृषिसम्बन्धी महत्वपूर्ण समझदारी बनेको उनले दावी गरे। उनले भारत भ्रमणमा पनि सीमाका समस्या र सुख्खा बन्दरगाहलगायत विषयमा महत्वपूर्ण सम्झौता भएको बताए।
प्रधानमन्त्री दाहालले केही समयभित्रै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने बताए। मलेसिया र नेपालबीचमा समझदारी भएर महासभामा जाने मौका मिलेको बताए । उनले भने,’छिट्टै संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदैछु। पहिले त समय नमिलेर राष्ट्रसंघको महासभा छुट्छ कि भन्ने थियो। पछि मलेसियासँग सट्टापटा भयो। मलेसिया र हाम्रो बीचमा समझदारी भएर महासभाको सहभागी हुने मौका मिल्यो । त्यहाँ पनि हामीले देशको आर्थिक विकास समृद्धिको विषयमा नै फोकस भएर कुरा राख्नेछौं।’