मंगलबार , माघ २९, २०८१
सुनको अनुसन्धान गर्दा चिनियासँग भेटियो नेपाली नागरिकता – Deurali Khabar

काठमाडौं : ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग नेपाली नागरिकतासमेत भेटेको छ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘हामीले सुनको अनुसन्धान गरिरहेका छौं।  यो क्रममा पक्राउ परेका केही चिनियाँ नागरिकसँग नेपाली नागरिकतासँगै केही नेपाली सरकारी कागजात पनि फेला परेको छ।  यो गम्भीर विषय हो। ’ उनले नेपाली नागरिकता लिने अधिकांशले काभ्रे जिल्लाबाट नागरिकता लिएको पाइएको छ।

प्रहरीका अनुसार सुुन तस्करी प्रकरणमा चिनियाँ नागरिकहरू टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन्।  चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको छ।

उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ।  ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँग काभ्रेबाट नागरिकता बनाउने पाँच जना विदेशी भएको खुलेको छ।

अन्नपूर्णलाई प्राप्त स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारीले राजनैतिक संरक्षणको आधारमा ३ सय ५० जनालाई नेपाली नागरिकता बिक्री गरेको खुलेको छ।

काभ्रेका प्रजिअ पुण्यविक्रम पौडेलका अनुसार यही साउन महिनामा मात्रै झुटा विवरण पेस गरी नागरिकता बनाएका १६ जनाको नागरिकता रद्द गर्नका लागि प्रहरी कार्यालयमा निवेदन पठाइएको छ।  पौडेल भन्छन्, ‘एकपछि अर्काे शंकास्पद विवरण भएका नागरिकता फेला पर्न थालेपछि नयाँ र प्रतिलिपिमा कडाइ गरेका छौं’। ’

प्रहरी हिरासतमा रहेका दावासँगै एकै मितिमा पाँच जना चिनियाँ मूलका व्यक्तिले नागरिकता लिएको प्रमाण अन्नपूर्णले प्राप्त गरेको छ।  २०७४ पुस २० गते दावाले नमोबुद्ध ११ को स्थायी ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए।

उनीसँगै सोही ठेगाना र बुवाआमाको नाम पनि उस्तै राखेर चिनियाँ नागरिकले पासाङ लामाको नाममा नागरिकता लिएका थिए।  उनीहरू दुवैको बाबुको नाम पेमा तामाङ राखिएको छ।  ‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्।  जो सुन प्रकरणमा पक्राउ परेका छन्।  राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते नेपाली  राहदानी लिएका हुन्।

थप २ चिनियाँ पक्राउ

६० किलो सुन प्रकरणमा शुक्रबार थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।  यस प्रकरणमा ७ जना चिनियाँ, भारतीय र नेपाली गरी २३ जना प्रहरीको नियन्त्रणमा छन्।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट भन्सार चेकजाँच पास भई बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।  स्कुटर र मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको सुन एक क्विन्टर बढी रहेको बताइएको थियो।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन पगालेर जोखेको थियो।  जोख्दा  ६० केजी ७ सय ८९ ग्राम तौल आएको थियो।  पक्राउ परेकाहरू विरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP