सोमबार , माघ ७, २०८१
डिजेल चोरी प्रकरण : पेट्रोलियम एसोसिएशनका प्रतिनिधि ढुङ्गाना र ट्याङ्करचालक पक्राउ – Deurali Khabar

पर्वत : बिल र भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेर पठाएको र त्यो डिजेल ओसारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार गण्डकी धवलागिरि पेट्रोलियम एसोसिएशनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र डिजेल ओसार्न प्रयोग भएको ट्याङ्करका चालक निर्मल थापालाई नियन्त्रणमा लिइएको हो।

गत साउन २५ गते दिउँसो करिब ३ बजे कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट बिल र भौचरमा उल्लेख भएभन्दा करिब ३ हजार लिटर बढी डिजेल लग्दै गरेको सूचना प्रहरीले पाएको थियो।

ग.२.ख. ८३६ नं को पेट्रोलियम ट्याङ्करमा लोड गरिएको डिजेल पोखरा महानगरपालिका–२७ मा रहेको पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको सूचना पनि प्रहरीले पाएको थियो।

लगत्तै जिल्ला प्रशासन कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय हंसपुर शिसुवाबाट खटिएको प्रहरीको टोलीले  डिजेल बोकेको ट्याङ्कर खोजतलास गर्ने क्रममा ट्याङ्करलाई पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा फेला परेको थियो।

प्रहरी टोलीले ट्याङ्करसहित ट्याङ्करचालक निर्मल थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग कास्कीका प्रतिनिधि, नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौँडा  डिपोका अधिकृत स्तरका कर्मचारी, स्थानीय जनप्रतिनिधि समेतको रोहबरमा ट्याङ्करमा रहेको डिजेल मापन गरेको थियो।

चालक थापासँग रहेका बिल भौचरमा करिब १२ हजार लिटर डिजेल रहेको उल्लेख भएको भए पनि उक्त ट्याङ्करमा तोकिएभन्दा ३ हजार लिटर धेरै अर्थात् १५ हजार लिटर डिजेल रहेको पाइएको थियो।

त्यसपछि चालक थापालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको थियो।

प्रहरी नायव उपरीक्षक बिकका अनुसार उक्त कसुर सम्बन्धमा प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरू सहितको निर्देशन पाएपछि कास्की प्रहरीले अनुसन्धान सुरु गरेको छ।

उक्त कसुरमा इलाका प्रहरी कार्यालय हंसपुर शिसुवा कास्कीमा मुद्दा दर्ता गरी चालक थापा र गण्डकी धवलागिरि पेट्रोलियम एसोसिएशनको प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई आपराधिक विश्वासघात मुद्दामा पक्राउ कास्की जिल्ला अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP