‘कुटुमा कुटु’ र ‘बुलुबुल’की हिरोइन भनेर मात्रै चिनिन चाहन्नँ : स्वस्तिमा खड्का – Deurali Khabar

काठमाडौं । भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’ दुई कारणले स्मरणीय हुन सक्छ । पहिलो- यसले राजनीति र समाजको आयामलाई बुन्ने प्रयास गरेको छ । दोस्रो- निर्देशकदेखि कलाकारसम्मको टीमअप आकर्षक छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउतले महिला निर्देशकसँग सहकार्य गर्न अनुभव बाँडे । अभिनेत्री राउतले महिला निर्देशक भए पनि महिला कलाकारलाई काम गर्न सजिलो भएको अनुभव सुनाइन् । ‘काम गर्न पक्कै सहज भयो,’ उनले भनिन् ।

अभिनेत्री खड्काले महिला निर्देशकसँग काम गर्दा मेकअप, हेयर, पात्र निर्माणदेखि सेटमा हुने सिर्जनात्मक कार्यमा सहभागिता बढी हुने बताइन् । ‘मेल निर्देशकसँग यी कुरामा सहभागिता कम हुन सक्छ । तर फिल्म मेकिङमा मेल र फिमेल भनेर हेर्नु उचित पक्कै होइन,’ उनले भनिन् ।

निर्देशक कृषा चौलागाईंले पत्रकार सम्मेलनमा फिल्म निर्माण र महिला दृष्टिकोणबारे धारणा राखिन् । अभिनेत्री राउतले फिल्मको पोस्टर र टिजरमा आफूलाई संक्षिप्त भूमिका दिइएकोमा असन्तुष्टि जनाएको चर्चाको खण्डन गरिन् । ‘सुटिङकै बेला रोल काटेको भए म यहाँसम्म आइपुग्दिन थिएँ । मिडियामा आएजस्तो कुरा पक्कै होइन । मलाई मेरा हरेक फिल्म रोचक लाग्छ । यो फिल्मप्रति पनि झनै आशावादी छु,’ उनले भनिन् ।

अभिनेत्री खड्काले धेरै दृश्य भएर मात्र फिल्म राम्रो नहुने बताइन् । ‘यो पहिलाको कन्सेप्ट हो । अब हामी यस्ता प्रश्नबाट मुभ हुनुपर्छ,’ उनले भनिन्, ‘अब मलाई दर्शकले कुटुमा कुटु फिल्मकी हिरोइन भनेर मात्र नचिनोस् । बुलबुलकी कलाकार भनेर मात्र नचिनोस् । म सबैखाले फिल्म गर्न चाहन्छु,’ उनले भनिन् ।

फिल्ममा राजनीतिक कथावस्तु समेटिएको सन्दर्भको प्रश्नमा उनले कलेज जीवनबाट आफूले बुझेको राजनीति र भोटर भएर बुझेको राजनीतिमा भिन्न रहेको बताइन् । ‘कलेजमा पढ्दा कलेज बन्द गर्ने, टायर बाल्ने कुरालाई राजनीति भनेर बुझेको थिएँ । तर अहिले आएर राजनीति भनेको नीति हो, हाम्रो मुड कस्तो छ । सबै कुरालाई राजनीतिले प्रभाव पारेको हुने रहेछ भनेर बुझें,’ उनले भनिन् ।

अभिनेता मुकुन भुसालले फिल्म उद्योग किराना पसलजस्तो नभएको बताए । बलिउड फिल्म ‘पठान’मा सलमानले शाहरुख खानलाई साथ दिंदा व्यापार सफल भएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि यस्तो साथ जरुरी रहेको बताए ।

‘एकअर्काले साथ दिने हो भने फिल्मको बजार फस्टाउन गाह्रो हुँदैन । कलाकारको इगोले फिल्म बजार यस्तो भएजस्तो लाग्दैन । सँगै काम गरेकोमा यस्तो देखिएन,’ उनले भने, ‘छैटौं फिल्मसम्म आइपुग्दा हरेक फिल्ममा नयाँ काम गरिरहेको छु । मन भएर मात्र पुग्दैन । मन भयो भन्दैमा मात्र हुँदैन, मेकरले कसरी अप्रोच गर्नुहुन्छ । मनको बहकाउमा भन्दा पनि आएका काममध्ये सेलेक्ट गरेर काम गरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP