६ भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।
बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।
‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेकाे छ ।’
उनले सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइएकाे आरोप समेत लगाए । ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हङकङबाट पानी तान्ने पम्प र ब्रेक शुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । ब्रेक शुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नुपर्ने ?’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’