काठमाडौँ — सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदैछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । असोज पहिलो सात प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यतालिकासमेत रहेको छ ।