
१४ भदौ, काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, गगनगौंडा (पोखरा)ले २५ साउनमा एक पम्पका लागि डिजेल बिक्री गर्यो । आयातकर्ता पम्पले निगमलाई १२ हजार लिटरको १८ लाख ३६ हजार रुपैयाँ पैसा तिरे । निगमको हिसाबमा पनि १२ हजार लिटर डिजेल बिक्रीबापत सो रकम भुक्तानी भएको देखिन्छ ।
तर, डिपोबाट केही पर मात्रै पुगेको ट्यांकरलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गर्दा ट्यांकरमा १५ हजार लिटर डिजेल भेटियो । अर्थात्, बिक्री गरेको भनिएको भन्दा ३ हजार लिटर धेरै तेल डिपोबाट पम्पमा गएको भेटियो, जसको मूल्य ४ लाख ५९ हजार रुपैयाँ हुन्छ ।



एउटा ट्यांकरमा एकैपटकमा बिल परिमाणभन्दा साढे ४ लाख रुपैयाँ बढीको इन्धन बिक्री गर्ने कार्य संगठित रुपमा भएको भन्दै डिपो प्रमुख चित्तरञ्जन दास र ट्यांकर मालिक लगायतलाई कारबाही गर्न कास्की जिल्ला प्रशासनले अख्तियारलाई पत्राचार गरेको थियो । अवैध तेल नियन्त्रणबारे २५ साउनमा अनलाइनखरसँग कुरा गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भनेका थिए, ‘अवैध तेल बिक्रि गरेर सरकारी सम्पत्तिमा हानी पुर्याउने गरेको सूचनाका आधारमा हामीले चेकजाँच गरेका थियौं ।’
तेल चोरीको प्रमाणसहित ट्यांकर बरामद भएपछि अहिले दासविरुद्ध ठगी मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) अभियोगमा जिल्ला अदालत कास्कीमा २९ असारमा मुद्दा दर्ता भएको हो । यससँगै उनी निलम्बनमा परेका छन् ।