घुँडाको शल्यक्रिया गर्दा डाक्टरले शरीरभित्रै कपडा छाडेको भेटियो – Deurali Khabar

१७ भदौ, जनकपुरधाम । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ ।

महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको भेटिएको हो ।

शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटिएको पीडित परिवारले जनाएको छ ।

५ भदौमा जनकपुरधाम बाह्रबिघाको उत्तरी पूर्वकुना नजिकको नवजीवन हस्पिटलमा डा. मुकुन्द झाले मन्दीपको घाउको शल्यक्रिया गरेका थिए ।

४ साउनमा मोटरसाइकल दुर्घटना भएर चोट लागेपछि मन्दीपले ३२ साउनमा नारायण इएनटी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा कन्सलटेन्ट प्लास्टिक, रिकन्सट्रक्टिभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झासँग जाँच गराएका थिए ।

उनले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिएर नवजीवन हस्पिटलमा भर्न हुन आग्रह गरे । त्यसै दिन साँझ ४ बजे शल्यक्रिया गरे । आठ वटा टाँका लगाए । एक सातापछि डिस्चार्ज गरे, शल्यक्रिया र अस्पताल शुल्क गरी ६५ हजार रुपैयाँ लिएको मन्दीपका दाइ सन्तोष यादवले बताए ।

दुई/तीनदिन घरमा ड्रेसिङ गर्दा घाउबाट पीप आउन थाल्यो, फोन गर्दा डा. झाले उठाउन छाडेको सन्तोषले बताए ।

घुँडा निको नभएपछि १२ भदौमा मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको हो ।

बिरामी मन्दीप यादव ।

‘अन्यत्र कतै अप्रेसन गराउनुभएको थियो । तर निरन्तर घाउबाट पिप आयो भन्नुभयो । शंका लागेर टाँका खोलेँ । भित्र केही वस्तु छ जस्तो लाग्यो’ उनले भने, ‘भित्र गज रहेछ, निकालेर फेरि सरसफाइ गरी टाँका लगाइदिएको छु ।’

भित्र छाडिएको वस्तु धेरै दिन ननिकालेको भए घाउ अझै जटिल हुन सक्ने डा. शर्मा बताउँछन् ।

चिकित्सकको लापरबाहीले आफ्नो स्वास्थ्य झण्डै जोखिममा परेको बिरामी मन्दीपले बताए ।

‘केहीदिन चेक नगराएको भए त मेरो खुट्टा गुम्न पनि सक्थ्यो’, मन्दीपले भने, ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’

डा. मुकुन्द झाको क्लिनिक हिजोआज बन्द छ । साइनबोर्डमा लेखिएको मोबाइल स्वीच अफ छ ।

डा. मुकुन्द झाको क्लिनिक

नवजीवन हस्पिटलका म्यानेजर सञ्जीव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको तर्क गरे ।

‘डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन । त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ‘केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनुपर्थ्यो नि ।’

शल्यक्रिया गरेपछि डा. मुकुन्द झा आफ्नो शुल्क लिएर गएको र उनी आफूहरुको सम्पर्कमै रहेको बताए ।

मन्दीपका दाइ सन्तोष यादवले उपचारका नाममा ठगी र बिरामीको जीवनसँग खेलबाड गरेको भन्दै चिकित्सक र हस्पिटललाई कारबाही गर्न नेपाल मेडिकल एशोसिएसन (एनएमसी) समक्ष उजुरी गरेका छन् ।

‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भीर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपूर्ति भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’, सन्तोषले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP