‘यसपटक नेतृत्वमा मध्यपूर्वको प्रतिनिधित्व जरूरी छ’ – Deurali Khabar

अमिलो मन गरेर विदेशिने नेपालीको एउटा साझा पीडा छ । छिट्टै समृद्ध नयाँ नेपालमा फर्किन कहिले पाइन्छ भनेर सबैको एउटा साझा सपना छ । सन् २००३ मा मस्कोबाट सुरु भएको यो पवित्र अभियान २० वर्ष लाग्दै गर्दा हामीहरू पछिल्लो समयमा मानवीय कार्यमा भन्दा चुनावदेखि चुनावसम्म धेरै नै लाग्यौं । समृद्ध नेपालको मूल उद्देश्यतर्फ अलि कम लाग्यौं ।

म १५ वर्षदेखि यो अभियानमा छु । झन्डै ४० प्रतिशत रेमिट्यान्स अवैधानिक बाटो हुँदै भित्रिरहँदा त्यसलाई न्यूनीकरण गर्न हाम्रो के भूमिका रहन्छ ? म आगामी कार्यकालका लागि अध्यक्षको प्रत्यासी भइरहँदा यो विषयमा गम्भीर ढंगले सोचिरहेको छु ।

देश बाहिर सबैभन्दा धेरै नेपाली दाजुभाइ बसोबास गर्ने क्षेत्र मध्यपूर्व हो । मुलुकका लागि रेमिट्यान्स मार्फत सबैभन्दा बढी योगदान दिइरहेको ठाउँ पनि मध्यपूर्व हो । जहाँ समुद्र बगेको छ, त्यहींबाट नै ग्राग्री भर्न सजिलो हुन्छ । त्यसैले यो क्षेत्रको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ २०२३–२५ कार्यकालका लागि म अध्यक्षको दावेदार भएको हुँ । अरू प्रत्यासी साथीहरू पनि हुनुहुन्छ तर म परिपक्व छु । वरीयताको हिसाबले पनि अहिले देखिएका साथीहरूभन्दा म सिनियर पोजिसनमा नै हुन्छु ।

म पाँच महिनाको अन्तरालमा झन्डै ३६ वटा राष्ट्र घुमिसकें । एनआरएन अभियानलाई समृद्ध नेपालको मूल बाटोमा हिंडाउन मैले उहाँहरूसँग राय–सुझाव लिएँ । उहाँहरूका समस्याहरूलाई नजिकबाट नियालेको छु । धेरै एनसीसीमा सामूहिक समस्या छन् । भाषाको अज्ञानताका कारणले स्वास्थ्य सेवा लिन जाँदा गाह्रो महसुस गर्ने, सामान्य गल्तीमा पनि ठूलो झन्झट व्यहोर्नुपर्ने समस्या देखिन्छन् । विदेशमा हाम्रा बालबच्चालाई पनि नेपाली भाषाको समस्या देखिन्छ । कला र संस्कृतिसँग उनीहरूलाई कसरी जोड्न सकिन्छ भन्ने ठूलो चुनौती छ ।

मध्यपूर्वमा काम गर्ने श्रमिक हुन् वा अमेरिकामा नासामा काम गर्ने विद्वान् दाजुभाइ हुन्; वा बेलायतमा प्रोफेसर वा डाक्टरको काम गर्ने नेपाली हुन् ! सबैको कर्तव्यबोध सहितको गैरआवासीय नेपाली संघ बनाउने मेरो उद्देश्य रहनेछ ।

मध्यपूर्वको नेतृत्व एकपटक हुन जरूरी छ भनेर यसअघि पूर्व अध्यक्षहरू पनि बोल्दै आउनुभएको छ । सार्वजनिक रूपमा उहाँहरूले बोल्दै आएका कुराहरूलाई व्यवहारमा लागू गर्ने यो अवसर पनि हो । तर पूर्व अध्यक्षहरूलाई चुनावमा जोडेर म विवादमा ल्याउन चाहन्न । उहाँहरूप्रति मेरो सम्मान छ । तर यस पटक उहाँहरूको बोलीको अग्निपरीक्षा भने अवश्य हुनेछ ।

तपाईंले प्रधानमन्त्री र नेकपा माओवादीको मलाई पूर्ण समर्थन छ भनी सोध्नुभएको प्रश्नमा यसरी प्रष्ट्याउन चाहन्छु । सबैभन्दा पहिले गैरआवासीय नेपाली संघ र नेपाली राजनीतिक दलहरूको उद्देश्य समृद्ध नेपाल बनाउने नै हो । सबै एजेन्डाले नै काम गर्ने हो । तर उहाँहरूसँग सहकार्य रहन्छ नै ।

मेरा एजेन्डाहरू आम श्रमिकका मामिला हुन् । भुईंमान्छेका एजेन्डाहरू हुन् । दलहरूसँग हामी सहकार्य गर्छौं । तर दलसँग छलफल गरेर उम्मेदवारीको टुङ्गो लगाउने कुरा चाहिं गलत हो । हाम्रा एजेण्डाहरू नेपाल सरकारसँग सम्बन्धित छन् । नीतिगत रूपमा सम्बोधन गराउन होस् वा भोलि लगानीको सुरक्षा गराउन होस् । वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न होस् । हामी नेपाल सरकार, राजनीतिक दल र नेताहरूसँग धेरै नजिक छौं ।

मैले के जोड्न चाहें भने मेरा एजेन्डाहरू सही छन् । सामूहिक लगानी भित्र्याउन र हुण्डी निरुत्साहित गर्न, आम श्रमिकको गैरआवासीय नेपाली संघ बन्नुपर्छ भन्ने प्रधानमन्त्रीको पनि मनमा रहेको छ । हामी पनि गैरआवासीय अभियानमा धेरै योगदान दिनुभएका कम विवादित हुनुभएका साथीहरूलाई जोडेर चुनावको तयारी गरिरहेका छौं ।

मेरो उम्मेदवारीको विषयमा मेरो मात्र भोट आए पनि म पछि हट्दिनँ । विभिन्न राजनीतिक दलहरूको मेरो उम्मेदवारी प्रति आस्था र भरोसा छ । झन्डै ३० लाख श्रमिक मध्यपूर्व र मलेशियामा बस्दै गर्दा भोट केन्द्र भएको आधारक्षेत्रबाट एकपटक एनआरएनएले नेतृत्व पाउनुपर्छ भन्ने उहाँहरूको जोड छ । श्रमिकमैत्री एनआरएनए बन्नुपर्छ भन्ने चिन्ता र सद्भाव रहेको छ । तपाईंको लोकप्रिय मिडिया मार्फत म भन्न चाहन्छु, ‘मेरो उम्मेदवारी कुनै पनि हालतमा पछि हट्ने छैन ।’

तपार्इंले मतदानबारे जिज्ञासा राख्नुभयो । त्यो पूर्ण रूपमा अनलाइनमा नै हुन्छ । तर सफ्टवेयरको विषयमा मेरा पनि केही रिजर्भेसनहरू छन् । दुई वटा सफ्टवेयर समानान्तर रूपमा एउटै बटमबाट चुनाव गर्ने हो कि, यो कुरामा हामीहरू बसेर निर्वाचन समितिसँग छलफल गर्छौं । तर निर्वाचन अनलाइनबाट नै हुन्छ । यसपटक विदेशबाट घरमै बसेर एनआरएनहरूले आफ्नो नेतृत्व चुन्न पाउनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP