
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।



बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता डा. मुकुल ढकालले मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएको जारी विज्ञप्तिमा भनिएको छ।
‘विनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ’, जारी विज्ञप्तिमा भनिएको छ।
३ करोड प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर आउन रास्वपाले आव्हान गरेको छ।
‘डा. श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिनेछ’, विज्ञप्तिमा भनिएको छ।